सूर्यप्रसाद लाकोजूको कथासङ्ग्रह ‘सत्याग्रह’ पढेपछि

ध्रुबकृष्ण ताम्राकार

मैले भर्खरै दुई दिन अघि साहित्यकार सूर्यजीको कथासङ्ग्रह सत्याग्रह पढ्ने अवसर पाएँ । योभन्दा पहिले उनको कवितासङ्ग्रह मेरो घाम पढेकाे थिएँ । सो कवितासङ्ग्रहले चिसाप पुरस्कार पनि प्राप्त गरेको थियो । उक्त कवितासङ्ग्रह मलाई पनि साह्रै राम्रो लागेको थियो जस्मा बिम्बै बिम्बले सिङ्गारिएको देख्दा मेरो मन आनन्दको सागरमा डुबेको थियो । सूर्यका हरेक सृजनात्मक कृति यथार्थपरक छन्, मार्मिक र सन्देशप्रद छन् । उनका सिर्जनाहरू पोखरी जस्तो जमेको देखिँदैन । नदीजस्तै सलल बग्दै सागर भेट्ने गर्दछ । विधागत दृष्टिकोणले हेर्दा सत्याग्रह पहिलो पाइला भएर पनि अरु पोख्त काथाकारहरुको झै निखार र बान्की देख्दा म त्यत्तिकै उनको बहुमुखी प्रतीभा देखेर चकित भएँ । कथा पढिरहंँदा विश्राम लिन मन मान्दैन । कथाले पाठकलाई आफूतिर तानिरहन्छ ।

सूर्यप्रसाद लाकाेजू नेपाली साहित्यमा समर्पित सिर्जनशील स्रष्टा र बहुआयामिक व्यक्तित्व हुन् । लोमो समयदेखि नेपाली साहित्यका विविध विधामा सकृयातापूर्वक कलम चलाउँदै आएका साहित्यकार लाकोजूका तीनओटा सांस्कृतिक निबन्धका, कविताका पाँचओटा, मुक्तकका पाँचओटा, हाइकुका दुईओटा, एउटा नियात्रा, एउटा अनुवाद, तीनओटा जीवनीपरक निबन्ध, बालसाहित्यका नौओटा कृति, एकओटा संस्मरणको कृति प्रकाशित छन् भने सोही सङ्ख्यामा उनले साहित्यका विविध विधाका कृति सम्पादन समेत गरेका छन् । उनै सूर्य लाकोजूको कथासङ्ग्रह सत्याग्रहको बारेमा एक पाठकको नाताले केही शब्द कोर्ने जमर्को गरेको छु ।
कथाकार लाकोजूको सत्याग्रह कथासङ्ग्रहभित्र एघारओटा विविध विषयका कथाहरू रहेका छन् । सङ्ग्रहित कथाहरूले देशभक्तिको भावना बोकेका छन् । वर्तमान राजनीतिको विषयमा पनि कथा बोलेको छ । कथाहरूले समाजिक विकृति, विसङ्गतिहरूलाई निमित्यान्न पार्नुपर्ने विचार पनि उठाएको देखिन्छ । जनताको नागरिक हक र अधिकार प्राप्तिको लडाइँको विषयलाई पनि कथाले बोको छ । हुँदा खानेहरूको पीडाको चित्रण कथामा छ । प्रेम, प्रणयका विषय पनि कथाहरूमा उठाइएको छ । प्रेमलाई प्रेरणा र समर्पणको रुपमा चित्रण गर्ने काम कथाका माध्यमबाट कथाकारले गरेका छन् । सो कथासङ्ग्रह ट्रान्सवल्ड पब्लिकेशनले प्रकाशन गरेको हो । एघारओटा कथा उनिएको यो कथा संग्रह नामअनुसार त्यत्तिकै सशक्त र द्वन्द्वात्मक पाएको छु । कथामा प्राय: भूई मान्छेहरुको यथार्थ जीबनको चित्र कोरेको देखिन्छ । छाँया पीडा बोधको चित्रण हुनुको साथ साथै प्रेम प्रसंगले पनि ओतप्रोत छन् । क्रमश: सत्याग्रह, कमाल, अव्यक्तप्रेम, घडेरी, लाले, आमा, स्मृतिका, उद्वार, उपहार, बुनु , छबिलाल आदि शीर्षक रहेको यस सत्याग्रह कथासङ्ग्रहमा मानवीय समवेदनाको मार्मिक चित्रण पाइन्छ ।
सङ्ग्रहको प्रथम कथा सत्याग्रहमा प्रजातन्त्र र स्वतन्त्रताप्रति समर्पित भएर बाँचेकी एउटी नारीको असफल प्रेम कथा चित्रण गरिएको छ । कमाल कथामा मानवता नै सुख र सत्यको स्रोत हो भन्ने विचारको चित्रण पाइन्छ । मानिस धनले होइन मनले सम्पन्न हुन आवश्यक छ भन्ने धारणा पनि कमालमा छ । अव्यक्त प्रेममा कर्तव्य र प्रेम बीचको मार्मिक द्वन्द्व देख्न सकिन्छ । घडेरीकथाले हुँदा खाने वर्गको पिर व्यथाको कारुणिक चित्रण रहेको छ । जनप्रतिनिधिहरू अदूरदर्शी बन्दा विपन्न परिवारको ठिबास भएको सन्दर्भ घडेरी कथामा छ । त्यस्तै बुनु कथामा बर्तमान जगतको मोबाइल संस्कृतिले दिशाहिन बनाइरहेकी एउटी प्रतिनिधि पात्रको मनोदशा देखाइएको छ । सामाजिक सञ्जालको दुरुपयोगका कारण मानिसको जीवनमा पर्ने कुप्रभाव बुनू कथाले देखाइएको छ । आमा शीर्षकको कथामा छोराहरु मूर्ख भएपछि आमा बाबुको हुर्मत कसरी हुंदो रहेछ भन्ने कुराको सूक्ष्म चित्रण छ । उद्वार नामक कथाले कोरानाकालिन बेथितिको झलक देखाइरहेको यथार्थ प्रस्तुति गर्दछ ।
लाले समाजले उपयोग मात्र गरेको पात्र हो । समाजको स्वार्थी प्रवृत्ति लाले कथामा देखिन्छ । स्मृतिका असफल प्रेमको कथा हो । प्रेम प्राप्ति मात्र होइन, त्याग र समर्पण पनि हो भन्ने कुरा यस कथाले बताउन खोजेको देखिन्छ । धर्ममा आस्था राख्ने प्रजातन्त्रको पक्षधर छविलाल काका लोकतन्त्रका लागि लामो समयसम्म लडेका योद्धा हुन् । उनको त्याग र वलिदानकोे मूल्याङ्कन कसैले गरेन । यी यथार्थलाई कथाकार लाकोजूले छविलाल काका कथामा देखाएका छन् ।
लाकोजूका कथाहरू सरल र सरस छन् । पढ्न बसेपछि विश्राम लिन मान्दैन मन । यो सत्याग्रहको विशेषता हो । सत्याग्रहभित्र विविध विषयका कथाहरू रहेकाले पाठकले आफ्नो रुचिअनुसारको कथा पढ्न पनि सक्दछन् ।

कृति : सत्याग्रह
कथाकार : सूर्यप्रसाद लाकोजू
प्रकाशक : ट्रान्स वल्र्ड पब्लिकेशन
मूल्य : रु ३५०।–
संस्करण : पहिलो

Leave a Reply