साहित्यकार हरि अधिकारीलाई ९ प्रश्न


प्रस्तुती : ईश्वर थोकर

१. अहिले के गर्दै हुनुहुन्छ ? अकस्मात् हराउनुभयो । नेपाल कहिले आउनुभयो ?

आजकल म ३ वटा पुस्तकको परियोजनामा काम गरिरहेको छु । नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास, सम्वादमा समय–विम्ब र प्रतिनिधिमूलक नेपाली कविता सङ्ग्रह नामक ३ वटा पुस्तक तयार गर्ने परियोजनाको कार्यान्वयनका लागि सूर्यविनायक नगरपालिका वडा नम्बर ८, गणेशमन्दिर मार्गमा एउटा कार्यकक्ष बनाएको छु । यसबाहेक, सूर्यविनायक लेखन, सम्पादन सेवा केन्द्र नामक लेखन र सम्पादनको सेवा दिने एक फर्म पनि सञ्चालन गरिरहेको छु ।

म हराएको भनेको अलि पुरानो कुरा भयो । करीव ४ वर्ष संयुक्त राज्य अमेरिकामा बसेर नेपाल फर्केको पनि २ वर्षभन्दा बढी भइसक्यो ।

२. तपाईको समालोचना शृङ्खला अब फेरि शुरू गर्ने विचार छ कि के छ ?

हाललाई समालोचना विधामा सक्रिय हुने सोच छैन मेरो । आफूलाई घत परेको कुनै पुस्तकको समीक्षा भने गर्न सक्दछु ।

३. नेपाली साहित्यमा टिक्न गाह्रो भएर लेखकहरू पलायन हुने क्रम बाक्लो छ । उर्जावान् समयमा अरूको देशमा श्रमिक बन्न बाध्य छन् । अनि उमेर ढल्केपछि राम्रो लेख्न सक्दैनन् र कागज मात्र नाश हुन्छ भन्ने विचार सुन्न पाइन्छ । के तपाईँको पनि यही नियति हो ?

नेपाली साहित्यमा टिक्न गाह्रो भएर लेखकहरू पलायन भएका छन् भन्ने सङ्कथन सही हो जस्तो लाग्दैन । वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूमा गम्भीर साहित्य सर्जकहरूको उल्लेख्य संख्या छ भन्ने कुरा पनि तथ्यपरक होइन । उमेर ढल्केको व्यक्तिले राम्राे लेख्न सक्दैन भन्ने निचोड त झनै गलत हो । मलाई जोडेर गरिएको यो प्रश्न पूरै हास्यास्पद छ ।

४. वर्तमान नेपाली साहित्य बकवास हो । यहाँ ठूला–ठूला पुरस्कार पाउने किताबहरू स्तरहीन छन् भन्ने एकथरि आलोचकको विचार चर्को रूपमा सुनिन्छ । तपाई एउटा आलोचकको रूपमा हेर्दा यो विषयलाई कसरी लिनुहुन्छ ?

नेपाली साहित्य त होइन तपाइँको प्रश्नको यो अंश भने पूरै बकवास र वाहियात पनि छ । अधिकांश साहित्यिक पुरस्कार मरमोलाहिजा, पक्षपात र लिनुदिनुका आधारमा दिइने हुनाले विवादमा पर्ने गरेको भने सत्य हो । आलोचकका रूपमा भन्दा पनि एक लेखक र साहित्यानुरागीका रूपमा म पुरस्कारहरू निश्चित मापदण्डका आधारमा छनौट भई योग्यतम कृति वा सर्जकले पाउनु पर्दछ भन्छु ।

५. के माओवादी द्वन्द्वको समयलाई नकारात्मक विश्लेषण गरेको आधारमै विवेक ओझाको ऐँठन किताबले मदन पुरस्कार जितेको हो ? यस विषयमा तपाईँको मत के रहेको छ ?

यस वर्षको मदन पुरस्कार विजेता कृति ऐँठन आफूले पढिनसकेकोले त्यसको मूल्याङ्कन गर्न असमर्थ छु । तर जसरी माओवादी पक्षधरहरूले त्यस कृतिको आलोचना र लेखक विवेक ओझाको निन्दा गरेका छन् त्यसको आलोकमा भन्न सक्छु: युवा सर्जक विवेकले जनयुद्ध नाम दिइएको त्यो आधारभूत रूपले नै गलत हिंसाचारको धज्जी उडाएको हुनु पर्दछ । उनले आकर्षक भाषा, शिल्प र भङ्गिमाका साथ त्यसो गर्न सकेका छन् भने म उनलाई स्याबासी दिन्छु । माओवादीहरूको त्यो कथित जनयुद्ध हरेक कोणबाट भत्र्सनायोग्य थियो ।

६. अहिले साहित्यका हरेक गुटमा आआफ्नाको किताबलाई उत्कृष्टको सूचीमा हालेर आफ्नाआफ्ना नजिककालाई पुरस्कृत गर्ने चलन व्यापक छ । यस विषयमा तपाई के भन्नुहुन्छ ?

तपाइँको यो सङ्कथनमा सहमत छु ।

७. अब अलि फरक कुरा गरौँ । हरि अधिकारीले किन साहित्य लेख्छ ? किन समालोचना गर्छ ? तपाईँले नलेखेर यो समाजलाई के फरक पर्छ र ? हा… हा… (हाँस्दै) कहिलेकाहीँ तपाईँको मनमा यस्तो प्रश्न आउँदैन ? यस्तो बेला आफ्नो मनलाई कसरी सान्त्वना दिनुहुन्छ ?

अहँ आउँदैन किनभने, म स्वान्त: सुखाय लेख्छु । राम्रो लेख्नसकेको छु जस्तो लागेको बेला रमाउँछु र जत्ति गरे पनि चित्तमा गड्ने किसिमको रचना तयार गर्न नसकेको बेलामा दिक्क मान्दछु ।

८. के अहिले समालोचनाको ओझ मरेको हो ? अहिले बजारमा समालोचक नै छैनन् । सबै चाटुकर, दासमात्र छन् । गुणगानमात्र गाउँछन्, गाइरहेका छन् भनिन्छ । यस विषयमा केही टिप्पणी गरिदिनुस् न !

आजको समयमा नेपाली समालोचना दरिद्रतम स्थितिमा रहेको सत्य हो ।

९. अहिले लेखकहरू आफ्नो किताबको समीक्षा आफैँ लेख्छन्, आफ्नो अन्तर्वार्ता आफैँ तयार गर्छन् र आफ्ना गुटका मान्छेको नाम राखेर आफ्नै गुटको पत्रिकामा छपाउँछन् र आफ्नैको वाहावाही पाएर रमाउँछन् । के यस्ता पाराले नेपाली साहित्यले विश्वव्यापीकरण हुने मौका पाउन सक्ला र ?

कुनै पनि स्वाभिमानी स्रष्टाले तपाइँले माथि उल्लेख गरेजस्ता अपकर्म गर्दैन । सिर्जनात्मक प्रतिभाका दृष्टिले भिखारीहरूले मात्र त्यस्ता लज्जास्पद गतिविधि गर्ने हुन् । त्यस्ता भाङ्गे् र भिखारीहरूका भरमा साहित्यको उन्नयन कसरी होस् ?

Leave a Reply