श्याम आशाको लघुकथासङ्ग्रह ‘अघोषित आवाज’ पढेपछि

लता केसी

नेपालभाषा र नेपाली दुवै भाषामा लघुकथा लेख्न पोख्त लघुकथाकार श्याम आशा अग्रज स्रष्टा हुनहुन्छ । तीसको दशकबाट लेखनको आरम्भ गर्नु हुने उहाँको जन्म वि.सं. २०११ चैत्र २० गते बालाखुटोल, भक्तपुर नगरपालिका–२ मा भएको हो । स्रष्टा आशा लघुकथाकार मात्र होइन; कथाकार, कवि र सम्पादक पनि हुनुहुन्छ । ‘लघु’ नामक संयुक्त लघुकथासङ्ग्रह, वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मीद्वारा अनुवाद गरिएको ‘श्याम आशाका लघुकथा–२०७२’ र रासाद्वारा अनुवादित ‘अघोषित आवाज–२०७९’ उहाँका नेपाली लघुकथासङ्ग्रह रहेका छन् भने आधा दर्जनभन्दा बढी लघुकथासङ्ग्रह नेपालभाषामा लेखिएका छन् ।

प्रस्तुत ‘अघोषित आवाज’ लघुकथासङ्ग्रह हालसालै (२०७९, पुस ३० गते) नेपाल वाङ्गमय परिषद्, धनगढी, कैलालीको आयोजकत्वमा काठमाडौंको अनामनगरमा विमोचन भएको हो । विमोचनकै समारोहमा उहाँले आयोजक पक्षबाट प्रदान गरिएको, १० हजार नगद राशि रहेको ‘पद्मा रामचन्द्र लघुकथा सम्मान–२०७९’ प्राप्त गर्नुभएको छ ।

किताब हात पर्नासाथ अग्रजहरूको लेखनबाट केही सिक्न पाइन्छ भन्ने हुट्हुटीले पठन कार्यमा मैले ढिला गरिनँ । किताब ओल्टाइ पल्ट्याइ गरेँ । कुतः पिकाक, भक्तपुर नेपालमण्डलद्वारा प्रकाशित भएको रहेछ । विमल ताम्राकारको प्रकाशकीय, रासाको ‘अनुवाद प्रसङ्ग’ र स्वयम् स्रष्टा आशाको ‘म र मेरो लघुकथा’ पढेँ । स्रष्टा र उहाँको लघुकथाप्रतिको मोह अनि योगदानबारे केही हदसम्म परिचित हुन पाएँ । त्यसपछि क्रमशः पन्ना पल्टाउँदै गएँ । ५१ वटा एकसेएक लघुकथाहरू पढन ३ घण्टा लागेछ । छोटामिठा सटिक लघुकथाहरूले मन तानिरह्यो ।

पहिलो लघुकथाको शीर्षक ‘?’ चिन्हमा राख्नु नौलो प्रयोग लाग्यो । देशमा शासन व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नहुनुको भावलाई प्रष्ट्याउन सहिद र अबोध बालकको प्रश्नले मस्तिष्क झङ्कार पैदा गर्न सफल छ । स्वीकृत लघुकथामा मानिस चूप लागेर बस्नु भनेको मौन स्वीकृत हो भन्ने भाव बुझाउन मन्त्री र उनका पीएलाई पात्रको रूपमा अघि सारिएको छ । नबुझेको कुरोमा चश्मालाई बिम्ब बनाएर न्याय प्रणालीमाथि प्रहार गरिएको छ । अशोकमा मानिसको नाम मिलेपनि उनीहरूबाट गरिने काममा फरक पाइने सन्देश छाडेको पाएँ ।

‘धर्म’ शीर्षकको लघुकथा तुलनात्मकरूपमा अरूभन्दा आयामले विस्तारित भएपनि उत्कृष्ट लाग्यो । आफ्नो दुनो सोझ्याउन मानिसले गर्ने धर्मको विषय उठाएर समापनमा झट्का दिएको छ । धन्यवादमा भोको पेटको मार्मिक अवस्थाको चित्रण छ भने ‘कुन तन्त्र ?’ मा जुन जोगी आएपनि कानै चिरेका भन्ने भावलाई सार्थक गरेको छ ।

‘दाग’मा लालची नेताको चरित्र चित्रण गरिएको छ । नयाँ जि.एम.मा घुसघोरीप्रति व्यङ्ग्य प्रहार भएको छ । ‘मजदुर दिवस’मा मजदुरहरू आफ्नो पर्वको दिनमा कसरी शोषित हुन बाध्य हुन्छन् ? भनेर कारूणिक दृश्य बिम्बित भएको छ ।

यसैगरी ‘जुवाडे’ लघुकथामा समाजमा पद र पैसाको प्रभाव उदाङ्गो भएको छ । ‘जङ्गलको सिनेमा’मा सिँह कहिले बाघ बन्न सक्दैन भनेर हैसियत मापन गरिएको छ । ‘अन्धा कानुन’मा मान्छे परिबन्दमा पर्न सक्छ बन्ने भाव उजागर गर्दै न्यायिक क्षेत्रको कमजोरी उदाङ्ग भएको छ । ‘दसि’मा भगवानले मानिसलाई मासु नखानु भनेर कहिले भनेका छैनन् । समाजका ठेकेदार बनी टोपल्नेले धर्मसंस्कारको नाममा देखाउने हैकम प्रवृत्ति पस्किएको छ । ‘जात्रा’मा नेपालका मूर्तिहरू बेचिएर विदेश पुगेको अवस्थामा जात्रा देखाउनेहरूलाई चड्कन हानेको छ । ‘पत्र’ लघुकथामामा मोज मस्तिमा लागेर दायित्व बिर्सिन नहुने सन्देश पोखिएको छ ।

‘आस्था’ लघुकथामा मानवीय आस्थाले अवस्था हेर्दैन केवल सत्यमा अडिग रहन्छ भन्ने भाव देखाउन खोजिएको छ । ‘आशङ्का’मा कोरोना कालको अवस्था चित्रण गरिएको छ । ‘भगवान्’ लघुकथामा जन्मदिने आमा बुबाभन्दा ठूला भगवान अरू कोही हुनै नसक्ने सत्य भाव प्रस्तुत गरिएको छ । ‘मगन्ते’ लघुकथामा दुःखी, गरीब वा माग्ने लगायतका अपरिचित मानिसलाई प्रश्रय दिँदा उनीहरूले आफैँलाई समस्यामा पार्न सक्छन् है भनेर खबरदारी गरिएको छ । अन्तमा, मैले यहाँ ५१ वटा लघुकथालाई नै समेट्न चाहिनँ बरू किताबको मूल्य रू. १५०÷– तिरेर स्वाद लिनुहोला भनेर सुझाव दिन चाहेँ ।

समग्रमा; भन्ने हो भने प्रस्तुत लघुकथाहरूले हाम्रो समाजमा पाइने आचरण, अवस्था, विकृति र विसङ्गती, हैकमवाद, प्रभाव, मानवीय मनोविज्ञान, धर्म र संस्कार, न्यायप्रणाली आदिइत्यादि विषयलाई समेटेर बिम्ब र व्यङ्ग्य शैलीले हाम्रै अघोषित आवाजलाई घोषितरूपमा पस्किने जमर्को भएको छ ।

आशाद्वारा नेपालभाषामा लेखिएको लघुकथाहरूलाई रासाले नेपाली भाषामा अनुवाद गर्नु र प्रकाशनमा आउनु भनेको हामी सम्पूर्ण लघुकथाप्रेमीहरूको लागि खुसी र गौरवको विषय बनेको महसुस गरेकी छु । ‘अघोषित आवाज’ एउटा उत्कृष्ट सङ्ग्रह बनेको छ । समाजमा लुकेर, दबेर रहेका जनताका पीडा र सुस्केराहरूलाई उजागर गरिएकोले किताबको नाम ‘अघोषित आवाज’ सार्थक भएको देखिन्छ ।

अग्रज लघुकथाकारको सिर्जनामाथि विश्लेषण गर्ने दुस्साहस गरेकी छु । मेरो कलमले न्याय, अन्याय के गर्यो ? पाठक प्रतिक्रियाको आशमा भन्दै बिट मार्न चाहन्छु ।
००

1 thought on “श्याम आशाको लघुकथासङ्ग्रह ‘अघोषित आवाज’ पढेपछि

  1. बधाई छ लता मीस ! धेरै राम्रो समीक्षा ! सधैंभरि प्रयास जारी राख्नुहोला !

Leave a Reply