‘भग्न भैरव’ उपन्यासका लेखक प्रोल्लास सिन्धुलीयसँग कुराकानी

कविता लेखनमा स्थापित कवि प्रोल्लास सिन्धुलीय अब उपन्यासकारका रुपमा पनि जम्दै छन् । उनको दाेस्राे उपन्यास ‘भग्न भैरव’ भर्खरै प्रकाशित भएको छ । नेपाली साहित्यमा लेखकको जीवनीमा आधारित भई तयार गरिएको सम्भवत यो पहिलो आख्यान हो । यो उपन्यास हास्यव्यङ्ग्यलेखक भैरव अर्यालको जीवनीमा आधारित भई तयार गरिएको छ । ‘भग्न भैरव’ कै सेरोफेरोमा हाम्रा उपसम्पादक ईश्वर थोकरले उपन्यासकार प्रोल्लास सिन्धुलीयसँग गरेकाे कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

१. अग्रज साहित्यकारको जीवनीमा आधारित उपन्यास तयार गर्ने प्रेरणा कसरी प्राप्त गर्नुभयो ?
सुप्रसिद्ध हास्यव्यङ्ग्यशिल्पी भैरव अर्यालसम्बन्धी काम गर्दै थियौँ । अर्यालका अनन्य मित्र रोचक घिमिरेले अर्यालसम्बन्धी यौटा हृदयविदारक सम्झना सुनाउनुभयो । मैले लेख्नका लागि उहाँलाई आग्रह गरेँ । पहिले नै लेखिसकेको बताउनुभयो । उहाँले लेखिसक्नुभएको मैले पढेकै थिएँ । त्यो र त्यस्तै थुप्रै प्रसङ्ग उहाँको संस्मरणात्मक पुस्तक ‘अनुहार र अनुभूति’ (०७४) मा थियो । तर, त्यो उहाँले सुनाउनुभएजत्तिकै विस्तृत र गहिरो अनुभूतिमा डुबाउने खालको थिएन । उहाँले आफूले जानेसम्मको लेखेको, फेरि लेखे पनि त्यो भन्दा पृथक् नहुने बताउनुभएपछि मैले प्रस्ताव गरेँ, “तपाईं अर्यालमै केन्द्रित भएर उहाँसितका संस्मरण लेख्नुस्, म सम्पादन, पुनरलेखन गरेर त्यसलाई तपाईंले सुनाउनुभएझैँ रोचक र हृदयविदारक बनाइदिन्छु ।”
मेरो कुरा सुनेपछि उहाँ मुस्कुराउनुभयो । भन्नुभयो, “त्यसो गरेर तपाईंलाई के सन्तोष होला ? किताब मेरो नाममा छापिन्छ, मैले तपाईंलाई मनग्गे पैसा दिन सक्ने पनि होइन ! मलाई पनि के सन्तोष हुन्छ र ? कसैले स्याब्बासी दियो भने पनि ‘यो अर्कैले लेख्देको हो’ भनेर बिझिरहन्छ ।”
“हैन, यो त लेख्नै पर्ने कुरा हो !” मेरो जिद्दी यथावत् रह्यो ।
उहाँले सजिलो बाटो पहिल्याउनुभयो, “मसित भएका सबै सामग्री दिन्छु, सबै कुरा सुनाउँछु । तपाईंले सक्नुहुन्छ, तपाईं नै लेख्नुस्, तपाईंकै नाममा त्यो आओस् !”
रोचक घिमिरेलाई नै ‘म पात्र’ बनाउने शर्तसहित त्यो जिम्मेवारी मैले लिएँ । यसरी भैरव अर्यालको इतिवृत्तमा आधारित उपन्यास ‘भग्न भैरव’ को पृष्ठभूमि तयार भयो ।

२. जीवनीलाई उपन्यास बनाउन कत्तिको गाह्रो वा सजिलो हुने रहेछ ? यस विषयमा केही कुरा भनिदिनुस् न !
अन्य कथा, उपन्यास गमेर, जमेर पनि तयार हुन सक्छ । अघिल्लो उपन्यास ‘शून्य डिग्री’ (२०७४) पनि एक आममान्छेको वास्तविक कथामा आधारित थियो । यस्तोमा भने अध्ययन, अनुसन्धान व्यापकै चाहिने रहेछ । यो किताब तयार हुँदासम्म लगाएको श्रम, सीप, लगानी शैक्षिक स्तर उकास्न लगाएको भए भैरव अर्यालमाथि नै विद्यावारिधि सकिन्थ्यो र मेरो नामअगाडि ‘उपन्यासकार’ को ठाउँमा ‘डा.’ हुन्थ्यो सायद ।

३. एउटा स्थापित कवि, कवितामा चिनिएको व्यक्ति उपन्यासकारको रूपमा उदाउनुभएको छ । यो उपन्यासलाई पाठकले कसरी हेर्लान् भन्ने अनुमान गर्नुभएको छ ?
कविता, आख्यान र सम्पादन — यी तीन विधामा म सुरुवातदेखि नै लागिरहेकै छु । कवितामा अलिकति पृथक् बाटो पक्रन सकेकोले सायद, कविकै रूपमा मलाई अधिक परिचय मिल्दै गयो । जसको कारण कविताबाहेक अन्य पुस्तकको प्रतीक्षा मेरा पाठकलाई हुँदैन भन्नेमा म प्रष्ट छु । ‘भग्न भैरव’ सिर्फ यौटा कविले लेखेको उपन्यासमात्र होइन, हास्यव्यङ्ग्य क्षेत्रको यौटा मियो स्रष्टाको सुखदुःखको कथाउतार पनि हो । ‘यसलाई कसरी पढ्नलायक बनाउने ?’ मेरो बुद्धिले भ्याएसम्म मैले यत्न गरेँ । मैले सोचेजस्तो गतिलो बनाउन सकेँ, सकिनँ; त्यो छुट्टै विषय होला । तर, यो पढ्नै पर्ने किताब हो भनेर लिइदिनुभयो यौटा अग्रजलाई अझ आत्मीय बनाउने मेरो प्रयासले जित्नेछ । विज्ञ पाठकले यत्ति कुरा पक्कै बुझिदिनुहुनेछ ।

४. यो वर्ष वि.सं. २०७९ मा दुई दर्जनजति उपन्यास प्रकाशित भएको तथ्याङ्क बाहिर आएको छ । अरू उपन्यासभन्दा ‘भग्न भैरव’ के कारणले फरक छ जस्तो तपाईंलाई लाग्छ ?
फरक होइन, मेरो बुताले भ्याएसम्म मैले यसलाई आमउपन्यास बनाउन खोजेको छु । भैरव अर्यालको जीवनीलाई आख्यानीकरण गरेर मैले उहाँको मात्र होइन, अर्यालजस्ता अनेकौँ स्रष्टाको नियति उजागर गर्नु यसमा मेरो अभिष्ट रह्यो । हाम्रो समाजलाई असल स्रष्टाको एकदमै खाँचो छ तर खाँचो छ भनेर समाजले कहिल्यै पत्याएन । त्यो नियति अहिले पनि उस्तै छ । अर्यालको मात्रै होइन, म र मजस्ता स्रष्टाको औचित्यको खोजी यो पुस्तकको मूल मुद्दा हो । सम्भवतः अहिलेको सन्दर्भमा यो पृथक् मुद्दा हुन सक्छ ।

५. तपाईंले फेरि नयाँ उपन्यास लेख्न थाल्नुभएको हो ? केही भन्न मिल्छ भने त्यो उपन्यासको बारेमा भनिदिनुस् न है !
चार महिनाअघि ‘भग्न भैरव’लाई प्रकाशक बुकहिलको जिम्मा लगाएर म नयाँ पुस्तक ‘फिरङ्गी’ (सिँधुलीगढीको कथा) लेखनको निम्ति सिँधुली झरेको हुँ । नेपालको इतिहासले खासै महत्त्व दिन नरुचाएको तर पृथ्वीनारायण शाहको एकीकरण भनूँ या बिस्तार; त्यो अभियानलाई उत्थान र पतन कता लैजाने ? भन्ने निर्क्याेल गर्ने युद्ध थियो— ब्रिटिशहरूसँगको वि.सं. १८२८ को सिँधुलीगढीको युद्ध । ब्रिटिश साम्राज्यकै इतिहासमा पनि विश्वमै सर्वाधिक १६ सय सैनिक हताहत भएको यो एकमात्र युद्ध थियो । घरेलु हतियारकै भरमा लडेर सिँधुलीका स्थानीयहरूले बचाएको तर उनीहरूको नाममा नलेखिएको इतिहासलाई आख्यानीकरण गर्न म काम, क्रोध, लोभ, मोह, घरपरिवार सप्पै त्यागेर भिडेको छु, हेरौँ !

६. मैले भन्न छुटाएका र तपाईंलाई भन्न मन लागेका केही कुरा छन् भने हाम्रा पाठकसमक्ष साझा गरिदिनुस् न !
अँ, आजभन्दा २५६ सालअघिको कथा ‘फिरङ्गी’ मा उतार गर्दै गर्दा वि.सं. २००० साल आसपासको अर्को कथामा पनि म लागिरहेको छु । सकेछु भने यौटा अद्भुत प्रेमकथा ‘सुन्तली मै’ (सिँधुलीगढीको कथा) ‘फिरङ्गी’ को दोस्रो भागको रूपमा; तर सँगसँगै तयार गर्ने कोसिसमा छु ।

प्रस्तुति : ईश्वर थाेकर

1 thought on “‘भग्न भैरव’ उपन्यासका लेखक प्रोल्लास सिन्धुलीयसँग कुराकानी

Leave a Reply