‘झरनाको पानी’ विमोचित

काभ्रे∕ नेपाली साहित्यमा लामो समयदेखि कलम चलाउँदै आएका कवि गोपाल पौड्याल ‘मण्डने’ को मुक्तक सङ्ग्रह ‘झरनाको पानी’ को लोकार्पण भएको छ । सो कृतिको लोकार्पण एक समारोह बीच वरिष्ठ साहित्यकारद्वय मोहन दुवाल र सूर्यप्रसाद लाकोजूले गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि दुवालले मुक्तकमा मानिसलाई आकर्षण गर्ने शक्ति भएको कारणले लोकप्रिय रहेको विचार पोखे ।

उक्त कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै साहित्यकार रामसुन्दर देउजाले झरनाको पानीमा नेपाली समाजको यथार्थ चित्रण रहेको बताए । अर्का टिप्पणीकार तुयुकाजी ताम्राकारले मुक्तककार मण्ड्नेको योगदान नेपाली साहित्यमा उल्लेखनीय रहेको बताए । मुक्तक संग्रहमा मानव जीवनका भोगाई, अनुभूति रहेकाले पाठक को मनलाई सहजै स्पर्श गर्नसक्ने बिचार मुक्तककार पौड्याले व्यक्त गरे । सो मुक्तक सङ्ग्रहमा विभिन्न विषय र प्रसङगमा रचिएका १०१ ओटा मुक्तक रहेका छन् ।

राष्ट्रप्रेम, संस्कृति प्रेम, प्रकृतिप्रेम, सामाजिक मेलमिलाप, संस्कृतिको महत्व झल्काउने विभिन्न विषयहरूमा रचिएका मुक्तकहरूले पाठकको मन आकर्षित गर्न सक्दछन । देशभक्ति, नैतिकता, सामाजिक मूल्य र मान्यताको सन्देश मुक्तकहरूले दिएको छ । समसामयिक राजनैतिक घटनाका विषयमा पनि मुक्तक बगेको छ । पुस्तकमा विविध विषयका मुक्तकहरू समावेश गरिएका छन् । कवि मण्डनेका विविध विधाका करिव दुई दर्जन साहित्यिक कृति प्रकाशित छन् ।

Leave a Reply