पन्त स्मृति प्रतिष्ठानद्वारा विभिन्न सर्जकहरु पुरस्कृत

काठमाडौँ, भाद्र २ गते

पन्त स्मृति प्रतिष्ठानको एक्काइसौं वार्षिकोत्सव तथा अठारौँ सम्मान कार्यक्रमको अवसरमा उक्त प्रतिष्ठानद्वारा हिजो भाद्र १ गते रसियन साँस्कृतिक केन्द्र कमलपोखरीमा आयोजित समारोहमा नौ जना विभिन्न सर्जकहरुलाई पुरस्कृत गरियो। नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति आचार्य पूर्णचन्द्र ढुङ्गेलको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बाल नृत्यकलातर्फ सदीक्षा बालप्रतिभा पुरस्कारबाट सीता रावल, चित्रकलातर्फ सीताश्री स्मृति पुरस्कारबाट रूपक राई, हाँस्यव्यङ्गयतर्फ गोपालराज पन्त स्मृति पुरस्कारबाट शैलेन्द्र सिम्खडा, उपन्यासतर्फ रामराज पन्त स्मृति सम्मान पुरस्कारबाट जानुका खतिवडा, लोककथा र संस्कृतितर्फ मैँयावासु पन्त स्मृति पुरस्कारबाट डा. शशी थापा पण्डित, साहित्यिक पत्रिकातर्फ वन्धु पन्त स्मृति पुरस्कारबाट वियोगी बुढाथोकी, समालोचनातर्फ टीकामुकुन्द पन्त स्मृति पुरस्कारबाट प्रा.डा. भागवत ढकाल, समाज सेवातर्फ आमा इन्दिरा पन्त स्मृति पुरस्कारबाट फरक क्ष्मताकी प्रतिभा कोपिला हुमागाई तथा बालसाहित्यतर्फ सुशीला पन्त स्मृति पुरस्कारबाट गोपाल पराजुलीलाई पुरस्कृत गरियो। नवज्योति किशोर साहित्यिक वार्षिक पत्रिकाको विमोचन गरिएको समारोहमा प्रतिष्ठानकी सदस्य सचिव अञ्जु पन्तले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्य सिमरन पन्तले गर्नुभएको थियो ।

कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष इन्दु पन्तको सभापतित्वमा सम्पन्न भएको उक्त समारोहमा पुरस्कृत स्रष्टाहरुलाई निम्नानुसार नगद पुरस्कार पनि प्रदान गरिएको थियो । सुशीला पन्त स्मृति पुरस्कारमा रू दस हजार, सदीक्षा बालप्रतिभा पुरस्कारका लागि रू दस हजार, सीताश्री स्मृति पुरस्कारका लागि रू पच्चीस हजार, गोपालराज पन्त स्मृति पुरस्कारका लागि रू पचास हजार, रामराज पन्त स्मृति पुरस्कारका लागि रू पच्चीस हजार, मैँयावासु पन्त स्मृति पुरस्कारका लागि रू पन्ध्र हजार, वन्धु पन्त स्मृति पुरस्कारका लागि रू पचास हजार, टीकामुकुन्द पन्त स्मृति पुरस्कारका लागि रू दस हजार र आमा इन्दिरा पन्त स्मृति पुरस्कारका लागि रू दस हजार नगद प्रदान गरिएको थियो ।

Leave a Reply