‘पनौतीका केही जात्रापर्वहरू’ दोस्रो संस्करण लोकार्पण

काभ्रे/ साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजू लेखक रहेको पनौतीका केही जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण भएको छ । सो पुस्तकको लोकार्पण संस्कृतिकर्मी तथा इतिहासकार प्रा डा पुरुषोत्तम लोचन श्रेष्ठ , पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी तथा पनौती नगरपालिकाका निवर्तमान नगर प्रमुख भीम न्यौपाने र लेखक लाकोजूले संयुक्त रूपमा गरेका थिए । सोही कार्यक्रममा पुस्तक लेखनका क्रममा सूचना प्रदान गर्नुहुने महानुभावहरूलाई कदर पत्र प्रदान गरिएको थियो। सो पुस्तक अक्षरमार्गले प्रकाशन गरेको हो । प्राचीन नगर पनौतीमा वर्षभरिमा मनाईने जात्रा तथा चाडवादका विषयमा पुस्तक तयार पारिएको छ । पुस्तकलाई विषयवस्तु अनुसार पाँच खण्डमा विभाजन गरिएको जानकारी प्राप्त भएको छ ।

लाेकार्पित पुस्तकमा पनौती नगरको परिचय, इतिहास, जार्त्रा, पर्वहरू, मकुण्डो नाच आदि विषय समेटिएका छन । पुस्तकका सर्जक साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूले नयाँ पुस्तक आफू जन्मेको माटोप्रतिको श्रध्दा, भक्ति र प्रेमको प्रतीक रहेको विचार पोख्नुभयो । एक अर्को प्रसंगमा साहित्य सिर्जना र अनुसन्धान फरक विषय रहेको पनि बताउनु भयो । पुस्तकमा पनौतीको इतिहास , यहाँ मनाइने जात्रा, पर्व, एतिहासिक नाच आदिका बारेमा जानकारी दिइएको कुरा लेखक सूर्य लाकोजूले बताएका छन् । साहित्यकार सूर्य लाकोजूका नेपाली साहित्यका विविध विधाका तीन दर्जन साहित्यिक कृति प्रकाशित छन् ।

Leave a Reply