टोटलाको फूल

कविराज तामाङ

उ त्यो घरमुनिको
गैरी बारीको डिलतिर
रातमा कोपिला भई
बिहानी पाखा सम्ममा
कोपिलाबाट फूल फुल्ने
जोरीबैरीसँग सेक्की खेल्दै
कसैले स्पर्श नगरेको
कभरभित्र
बाहिरी दुई पाता

भित्री दुई पाताको
बिचबिचमा
खेल्न थालेको
रम्न थालेको
फुल्न थालेको
दिनदिनै लोभ्याउने
मनै बस्नेगरी फुल्ने
म नै हुँ टोटलाको फूल ।

फूलको थुँगा सुहाउँदो छ
तैपनि म त चेप्टो छु
बारीको नाम पनि मै आउने
डाँडाको नाम पनि मै आउने
मान्छेको नाम पनि मै आउने
संस्थाको नाम पनि मै आउने
जीवनमा चारवटा
लुगा लगाउने
म नै हुँ टोटलाको फूल ।

देवतालाई नि सुहाउने
नाकलाई नि सुहाउने
राम्रो काममा पनि चाहिने
नराम्रो काममा पनि चाहिने
बिहेको काममा पनि म चाहिने
सबैको जीवनमा चाहिने
म नै हुँ टोटलाको फुल

टोपीको शिरमा
सजाए नि सुहाउँने
निधारमा लगाए नि सुहाउने
तोर्माेको शिरमा
सजाए नि सुहाउने
फुलका प्रकारहरू
बनाए नि सुहाउने
सगुनमा सजाए नि सुहाउने
किताबको अनुहारमा
सजाए नि सुहाउने
जे गरे नि सुहाउने
म नै हुँ टोटलाको फूल

म त तिमीले
को ? भन्छ होला
पूर्वी ठाउँको
स्यारकी दोर्जे देवताको
कोखमा जन्मेको
देवताको देशमा
तेही भएर
देवतादेखि मानवसम्म
सबैले मनपर्ने
मेरो त शरीर नै सेतो
मनै सेतो
लुगा नै सेतो
घरै सेतो
सबैसबै सेतो
म नै हुँ टोटलाको फूल ।

कोहीले भन्छ टोटलाको फूल
कोहीले भन्छ राजा फूल
कोहीले भन्छ देवता फूल
कर्मको फलअनुसार
फरक–फरक ठाउँमा
फरक नामले
मलाई बोलाए तापनि
तिमीहरूले नभुल्नु है
राजा फूल भने पनि मै हुँ
देवता फूल भने पनि मै हुँ
जे नाम राखेर
बोलाए तापनि
आखिर म
टोटलाको फूल नै हुँ ।
००

Leave a Reply