‘टुवरा’ उपन्यासका लेखकको लेखन अनुभूति

१. आफ्नै बारेमा
आफ्नै परिचय दिन, आफ्नो बारेमा केही लेख्न मलाई लाज लाग्छ । के भन्नु आफूलाई, आफ्नै बारेमा के लेख्नु र खै ! अहिलेसम्म आफ्नो परिचय बनाउन सकेको छैन । दुईचार जनाले चिनेर मात्रै आफू ज्ञात भइदैन । त्यसैले नामको पछाडि अज्ञात थपेको हुँ । हुनपनि, छरछिमेकी, इष्टमित्र, सहकर्मीले मात्रै चिनेर कोही ज्ञात हँुदैनन् । त्यस्तै लागेर पहिलो उपन्यास टुकी (२०७५) प्रकाशन गर्दा मनोज अज्ञात भन्ने नाम किताबमा चिप्काइदिएँ । साथीसंगोत्रीदेखि केही पर साहित्यको फाँटमा टुकी उपन्यासले अलिअलि परिचय दियो । अनि २०७९ मा उपन्यास टुवरा प्रकाशन गरेँ, जसमा मनोज थारु अज्ञात चिप्काइदिएँ । यत्रतत्र पहिचानको जो कुरा आउँछ भनेर सबैतिरबाट सुझाव सल्लाह पनि आएको थियो । त्यसैको उपज हो मनोज थारु अज्ञात । जन्मदर्ताको नाम चाहिँ मनोज कुमार महतो (२०३९ फागुन २८) । कक्षा ९ मा एक्कासी नाम परिवर्तन भयो मनोज चौधरी (२०३८ पुस २८) । चौधरी थर भएको नाम चाहिँ कक्षामा रोल नम्बर सहितको नाम वाचन हुँदा थाहा पाएँ । मनमनै सोचँे जेसुकै होस्, चौधरी र महतो भनेको थारु नै त हो । नयाँ जन्ममिति चै नागरिकता बनाउने बेलामा मात्रै थाहा पाएँ २०५७ मा, त्यसबखत जन्मदर्ता भाडमा गयो, जो बोल्थ्यो एसएलसीको सर्टिफिकेटले बोल्थ्यो । तर जन्मदिन उही बालकमा कण्ठ भएको मितिमा मनाउन त नभनौ सम्झिन छोडिनँ । कसैले जन्ममिति सोधे उही कण्ठस्थ भएको पुरानो जन्ममिति भनिदिन्छु, एकवर्ष नयाँ मान्छे जो बन्न पाइने । अनि वास्तविक जन्ममिति उही पुरानो दिनांक हो नि त ।

जन्मन चै ठुलै घरानामा जन्मेको मान्छे हुँ । जिम्दार घराना, मेरा जिजुबा छेङुर भगत, हजुर बा लोकइ र जेठा हजुरबा बैदार थारुले गाउँ चलाउँथे । गाउँमात्रै हो र मौजा चलाउथे । उबेलामा मौजा उठाउथे । मौजा भन्नाले टार परगानाभरिको कर उठाउथे । राजासँग प्रत्यक्ष सम्बन्ध थियो रे । हाम्रै चौघेरा घरमा कति पटक त स्वयं राजा पनि आएका थिए रे ! मेरो पहिलो उपन्यास टुकी पढ्नुभयो भने यसबारे अलिअलि झल्को आउनेछ । मेरो बाबाको नाम शिखाराम महतो, आमाको नाम बिक्रमिया थारु, ठुलीआमाको नाम मंगरीदेवी थारु । म आमाको धनी मान्छे हुँ, दुई आमा हुन् मेरा । मलाई जन्मदिने आमा उहिल्यै स्वर्गतिर टाप कस्नुभयो, केही वर्षपछि बाबा पनि । बाआमालाई जहिल्यै सम्झिरहन्छु । टुकी (२०७५) आमाकै सम्झनामा लेखेको उपन्यास हो । बाबाको सम्झनामा टुवरा (२०७९) लेखेको हुँ । यो त संयोग नै भएछ, अनर्थ नलगाउनुहोला । दुबै किताबको पहिलो अक्षर टु र टु पनि संयोग नै हो । टु प्रतिको मोहसोह केही होइन । तर ममा अलिअलि टु इन वान गुण पनि छ भन्छन्, मलाई चिन्नेहरुले । अलिअलि चित्र बनाउन, लेटर आर्ट गर्न, अलिअलि लेख्न, अलिअलि टेक्नोलोजी चलाउन र बनाउन, अलिअलि लघुकथा, कथा, लेखरचना पत्रपत्रिकाका लागि लेख्न जानेको छु, अलिअलि रेडियोमा बोल्न जानेको छु भन्नेले भन्छन् । तर मलाई खासै त्यस्तो लाग्दैन ।
२. पहिलो उपन्यास लेखेको सम्झना
लेख्ने हुटहुटी किशोरावस्थादेखि नै हो । केही न केही कोरी रहन्थेँ । बिबिध आयामका पुस्तकहरु अध्ययन गरिरहन्थेँ । रचना कोर्नका लागि अध्ययन अत्यावश्यक हुन्छ । सुरुवात कालमा दैनिकी लेखनले लेखिरहने बानी बसालीदियो । अध्ययनले दैनिकी संगै कविता जस्तै लाग्ने कविता लेखे । त्यसपछि चितवनमा एकताका गजलको बढी आयो । त्यो बाढीमा म पनि जानीनजानी होम्मिए । गजल खुब लेखियो, एफएममा प्रसारणका लागि । विस्तारै तिनै रचना स्थानीय पत्रपत्रिकामा पनि छापिनथाले । नियात्रा, लघुकथा हुँदै त्यसबेला उच्छृङ्खल किशोर किशोरीका प्रेमकथामा आधारित लघु(उपन्यास लेखे । साथीहरूलाई पढ्न लगाए । खुब मनपराए । लेख्नलाई अझ हौसला बढ्यो । पहिलो उपन्यास लेखेको सम्झना गर्नुपर्दा, म फेरि पुरानो कालमा पुग्नुपर्छ । हुन त, पुराना काल र नयाँ बाल उस्ता(उस्तै हुन्, जुन सम्झेर झनै पुलकित भइने र केलाइरहुँ लाग्ने । केटाकेटी छँदा आमाले अनेकखाले प्रोत्साहनका कथाहरू सुनाउनुहुन्थ्यो । ती कथामा आफ्ना विगतका कथाहरू पनि भरसक जोड्नुहुन्थ्यो । अनि भन्नुहुन्थ्यो – मैले जस्तो दुख तिमीहरुले पनि व्यहोर्न नपरोस् भनेरै आफ्ना विगत सुनाकी हुँ । पहिलेको जमानामा ऐलेको जस्तो प्रबिधि भको भए खिचेर राउथेँ । अनि देखाम्थेँ सबै कहानी । मेरो कहानीमा फिलिम बन्ने हो भने, मेरो दुख देखेर धेरै मन्से रुँदा हुन् – भन्दै भावुक भएर आशायुक्त लाड प्यारले हेर्नुहुन्थ्यो मलाई । त्यो लाडप्यारको हेराईले धेरै पछि मेरो दिमागमा क्लिक गर्यो । जतिबेला आमा परलोक भएको शोकमा थिएँ म । अनि सोचेँ, आमाको कथामा फिल्म नबने पनि उपन्यासै सही, लेख्छु । लेख्नको लागि बल गरेर कलम उठाएँ । तयार भयो किताब टुकी । टुकी उपन्यासकी आमोई मेरी आफ्नै आमा हुन् । आमोईका विगतका कथामात्रै मेरी आमाका कथा हुन् । वर्तमानका कथाहरु कथा बुन्दैगर्दा आफैँ जोडिन आएका कथा हुन् । कथा बुन्न कत्तिको सफल भएँ त्यो त पाठकले भन्ने कुरा हो । लेखनको प्रेरणा नजानिदरी आमाबाट पनि पाएँ भनौं । लेख्नलाई साथी(सेरोफेरो बाट हौसला मिलेको हो ।
३. मेरो बिचारमा उपन्यास लेखन
उपन्यास लेखन चुनौतीपूर्ण काम हो । कसैको जीवन लेख्नु परेको खण्डमा, समाज लेख्नुपरेको खण्डमा, देशविदेश लेख्नु पर्दा वा धेरै खालका म्यासेजहरु एउटै किताबबाट पाठक वा समाजलाई दिनुपरको खण्डमा उपन्यास लेखिन्छन् । लेख्दैगर्दा; जे, जसको कथा लेखिदै छ उसको मुल भाव हराउन सक्ने ठूलो भय हुन्छ । त्यसैले लेख्दैगर्दा भयंकर चुनौतिको सामना गर्नुपर्ने हुन्छ । कुनै व्यक्ति, वर्ग, समुदाय, धर्म, संस्कृति वा समाज माथि नै आहत पुग्न सक्छ । किताब प्रकाशन भएपश्चात् पाठकको गाली गलौजको सिकार भइन के बेर ! उपन्यास लेखन लरोतरो काम होइन ।
झारपातको त कथा हुन्छ भने मान्छेको कथा नहुने कुरै भएन । हरेक मान्छेमा कथा हुन्छन् । ती कथाहरु सिलसिलावद्ध, सरल बान्कीमा लेख्न सकियो भने सबैले बुझ्छन् । उपन्यास त भूइँमान्छेदेखि आकाशमान्छेसम्मका सबैले बुझ्ने हुनुपर्छ । क्लिस्टाय नमो नमः बान्किको रचना त उपन्यास नै होइन भन्छु म । जसको कथा हो उसैले पढ्न सक्दैन, पढेर केही सुझ्दैन भने त्यो रचना के उपन्यास ? त्यसैमा आजकल फेरि, कथा २०० पेजमा इतिश्री हुने खालको किताबलाई नानाभातिका ब्याख्या, नानाभातिका रंगरोगन, हुँदो न खादोको नयाँ प्रयोग, नानाभातिका शब्दजाल थोपरेर क्लिस्टका बा स्वरुपमा २००० पेजको बाक्लो न बाक्लो किताब बनाउने प्रचलन छ । कथा उही, गाथा उही, अर्थ न वर्थ गोविन्द गाई स्टाइलको स्वरुपमा उपन्यास लेखेर क्यार्नु ! पाठक अब लेखकभन्दा बाठा भैसके । त्यसैमा पाठकभन्दा लेखक च्याउ उम्रेसरी यत्रतत्र सर्वत्रै । कुन किताब ?, कसको किताब पढ्ने ? पाठक अलमल्ल । लेखक र प्रकाशकलाई अब भएन त झ्याउ !
४. यस कृतिको जन्म कसरी भयो ? टुवरा उपन्यासबारे
यो प्रश्नले जरजर कोरोना काललाई सम्झायो । विश्व लकडाउन भएको बेलामा, हस्पिटलमा जानै हुन्न मन मस्तिष्कले भनिरहेको बेलामा म बाध्यताले हस्पिटलमा थिएँ लगातार आठ महिना । पहिलो र दोस्रो कोरोना लकडाउन भरी पूरै हस्पिटलको बास । बालाई ब्लड क्यान्सर भएर उपचार गराइरहेको थिएँ । त्यस बखत मेरो मन मस्तिष्क पूरै डगमगिएको थियो । हस्पिटल घर, हस्पिटल घर, बाको स्वस्थकर आहारबिहारको बन्दोवस्त, बाको मिहिन स्याहारमा म लागिपरेको थिएँ । जसले गर्दा बा बाँच्ने समय अवधिभन्दा बेसी समय बचाउन सकेको थिएँ । बालाई कुरुवा बसिरहँदा बाका पुराना कुराहरु मिहिन ढंगले सुन्थेँ । बा समयका खेतिपाति, रंग–रमाइला क्रियाकलाप मज्जाले सुन्ने गर्थे । बा आफैले आफ्ना पुराना काल भनिरहदा हस्पिटलको बेडमा उजेलिनुहुन्थ्यो । मुहारमा मुस्कान आउने गथ्र्यो । बाँच्ने मनोबल अधिक बढ्थ्यो । तनमनमा उर्जा आएको महसुस हुन्थ्यो । त्यसैले बाको कुरा म चाख मानेर सुनिदिन्थेँ, बा भनिरहनु हुन्थ्यो । ऊबेलाको जिमिदारी प्रथा, आफ्ना हलिगोठालीका कहानी, प्रेम, घृणा, बिछोड, ऊबेलाको समाजको दृष्टिकोण, बिस्तारै थारु जिम्दारहरु कसरी मुर्दारमा परिणत भए ? कसले त्यसो गरे ? आदि सबै वृत्तान्त बाबाट प्रत्यक्ष सिनेमामा देखेझैँ महसुस गर्थेँ । किनकी बा आफै जिम्दारका छोरा थिए । अनि बा आफ्नो कालमा आफूँ जिम्दार । त्यसैले उबेलाको सबै समय सर्रर घुम्ने मौका पाएँ । बाले आफ्ना कुरा भनिरहदा आफू टाइम मेसिनमा बसेको भान हुन्थ्यो होला ! बाले आफूसँगै मलाई पनि आफ्नो कालमा लैजानुहुन्थ्यो सायद म पनि बासँगै हराएको हुन्थेँ । वहाँको समयको अर्गानिक खेती किसानीका क्रियाकलाप, गोठाली, समाज, कचहेरी (बैठक), ठेट चाडबाड, चालचलन, रीतिरिवाज, भेषभुषा, संस्कृति, राजनिति, आदिइत्यादी मैले अझ नजिकबाट बुझ्ने मौका पाएँ । दोस्रो कोरोना लकडाउन सकिन नपाउदै बा परलोक हुनुभयो । क्रिया बसेको बेलामा मैले उपन्यासको प्लट बनाएँ । काजक्रिया सकिएपछि म बासँग सम्बन्धित बाहरुसँग भेटघाट गरेँ । वहाँहरुसँग पनि अन्तरक्रिया गरेँ । उपन्यासमा सुहाउँदो गाउँ परिवेशको भ्रमण गरेँ । थारु लवज, तामाङ लवज र मधेसबाट कवाडी उठाउन, बिउबिजन बेच्न आउनेहरुको लवज टिपनटापन गरेँ । अनि लेख्न थाले रफ्तारमा । आखिर उपन्यास बन्यो भूइँमान्छेको । निमुखा किसानको । टुहुरो मान्छेको । जो आफ्ना भनिने मान्छेबाट, समाजबाट, राज्यबाट अपहेलित छ । उसका बाआमा छैनन् नै । त्यसखाले मान्छेको कथा टुवरा बनेर किताबमा परिणत भयो । तर यो टुवरा मेरा बा होइनन् है । बाका चिनजानका मान्छे हुन् सायद । उनी यस धरतीमा छैनन् पनि । बा र बाका ती मान्छेप्रति भावपूर्ण श्रद्धासुमन छ ।
५. अहिले गर्दै गरेको कामबारे
टुवरा उपन्यास २०७९ कार्तिकमा प्रकाशन भए पश्चात म लेख्नेभन्दापनि पढ्ने काममा व्यस्त छु । लेख्ने काम अब केही महिनापछि सुरु गर्ने बिचारमा छु । एउटा कथाको प्लट बनाएको छु । उही रोनाधोना, उही मल्हमपट्टी, उही आलाप, उही सकस कति पढ्ने, कति लेख्ने ? यसपाली सबै मुहारमा कान्ति छाउने खालको डिजाइन तयार पारेको छु । सरल, सरस त्यो कथा विस्तारै कुनै माध्यमबाट पढ्न पाइएला । कथाहरु धेरै र धेरैमा केही आफूलाई लागेका सर्वोत्कृट कथा छनौट गरेर एउटा कथा संग्रह पनि तयार हुनसक्ने छाटकाँट आउँला । अथवा केही वर्ष लगाएर ढुक्कसँग लेखेपछि, पुनर्लेखन, परिमार्जन गरेपछि, आठदश वर्ष नपुग्दै केही न केही कृति बजारमा ल्याउँला । केही न केही त हुनेछ । अरु क्यै नभएपनि मेरो मन सञ्च हुनेछ ।

६. लेखन रुचि
विशेषगरि लघुकथा र कथा लेख्न रुचाउछु म । पहिले गजल र कविता लेख्थे अलिअलि । अरु लेखकका रचना वाचन गर्थेँ प्रायः रेडियोबाट । आख्यानमै घुल्न, भुल्न, झुल्न र फुल्न रुचाउछु । आख्यानालय भित्र मेरो डेरा छ ।
७. भविष्यको लक्ष्यः
भविष्यमा भयंकरै यही गर्छु भन्ने केही योजना छैन । जन्मेपछि कुकुर बिरालो सरह नमरुँ । अहिलेको जमानामा त कुकुर विरालोको नाम उच्चारण गर्नुपर्ने भएको छ नत्र उनीहरुको अपमान हुन्छ रे ! भनेपछि हामी मानव सर्वश्रेष्ठ प्राणी, जन्मेपछि केही न केही कृति छोड्नुपर्छ भन्ने मेरो मान्यता छ । अझै राम्रा राम्रा कृतिहरु लेख्न सकुँ, मेहनत गरिरहेको छु । हेरौँ कहाँसम्म सफल भइएला ! यसोउसो कसैले टिको लाइदेला, मानमर्दनसाथ उनीहरुको मार्काको लेखकमा दरिउँला ! आशा भने पटक्कै छैन । नेपाल र नेपालीको राजनितिक अवस्था सबैलाई सर्वविदितै छ । फेरि यो लेखन यात्रामा अत्यन्तै पट्यार लाग्दो लामो बाटो तय गर्नुपर्ने हुन्छ । जहाँ पुग्न कठिन मात्रै होइन अक्षरको तपस्या जरुरी छ । या त लेखनलाई जाँचगर्ने प्रभुको हात लेखकको माथमा हुनुपर्छ । अनिमात्र केही हुन्छ भनेर भन्छन् माथ्लाघरे काइल्दाइले, हा हा हा … ।

Leave a Reply