घर

- नवराज रिजाल
दिउँसोको तीन बजेको छ । आकाश सफा छ । पशुपति तथा गुहेश्वरीबाट बेलाबेलामा आउने शङ्ख–घन्टाको आवाजले तन्द्रा भङ्ग गराउँछन् । सूर्य औकात देखाइरहेछ । विपक्षमा उभिने तागत कसैमा छैन ।
घाम ताप्दाताप्दै एक घण्टा बितिसकेकोछ । मन घाम, बदाम, पानी र लप्सीमा भुलिरहेछ । टाढा–टाढा हरियालीयुक्त डाँडाका आकृति देख्न सकिए पनि वरिपरिको परिवेशलाई सिमेन्ट– कङ्क्रिटले ढाकिसकेको छ । प्रकृति भताभुङ्ग अर्थात् क्षतविक्षत छ । विश्वास बागमतीमा बगाएर पनि सहर हाँसिरहेछ ।
कैलाश चौरको आतिथ्यतामा छौँ । हामीजस्ताको सङ्ख्या बाक्लो छ । रमाइरहेछ मन । चन्द्र अझै चङ्गा भइसकेको छैन । विचार, विश्वास र आस्थामा हराइरहेछ । खुसी, इच्छा र दृष्टिकोणमा रमिरहेछ । स्वतन्त्रता मान्छेको खोजी । त्यसैमा लागिरहेछ लाखौँ वर्षदेखि । तर अझै फेला परिसकेको छैन ।
केटी–केटी, केटा–केटा, केटा–केटी, युवा–युवती र वृद्ध–वृद्धाहरूका झुन्डहरू छन् । सबका अलग–अलग तालसुर छन् । कोही गफिइरहेछन् । कोही छलफलरत छन् । कोही विचार–विमर्शमा छन् । कोही आस्थामा पोखिइरहेछन् ।
मन्दिरमा दर्शन गर्न आउनेहरू यतिखेर समेत छन् । समयले अवरोध गरिरहेको छैन । ती विचार बोकेर आउँछन् । गन्तव्य खोजीको विषय हुन्छ । विश्वासमा छहारी बनाउँछन् । अठोटको पहाड उक्लन्छन् । विचारको शृङ्खलामा मन तरङ्गित बनाउँछन् । तर पाइला रोकिँदैनन् ।
आँखा वरिपरि दौडन्छन् । कानमा प्रतिध्वनि ठोक्किन आइपुग्छन् । चौर मानिसलाई बसाइरहेछ, उठाइरहेछ र हिँडाइरहेछ । वर्षदेखि चलिरहेछ क्रम । चन्द्र झकाएको छ अल्लि अघिदेखि । अनुहार घरीघरी हेर्छु । घाँटीको घुँक्का रोकिएको छैन । ऊ बुझिरहेको र जानिरहेको छैन । आफैँलाई सम्झाउँछु ।
हामी तीन वर्षदेखि सम्पर्कमा छौँ । उपत्यकाबाहिर हो दुवैको स्थायी बसोबास तर यतिखेर गौशालास्थित बराल कोलोनी आसपास बसिरहेछौँ । कुनै बेला अजङ्गका सपना थिए । यतिखेर ती टाढा छन् । विपनामा परिणत हुन सकेका छैनन् । पहाड सम्याउने अनि हिमाल अग्ल्याउने आकाङ्क्षामा थियो । अनि छिरिएको थियो काठमाडौँ ।
सैनिक सेवामा बीस वर्ष बिताएको व्यक्ति हो ऊ । त्यत्ति नै समय प्रहरीमा बित्यो मेरो । दुवै सेवानिवृत्त हौँ । भाडाको कोठामा छु । पत्नी निजी विद्यालयमा पढाउँछिन् । छोराछोरी कलेज पढ्दै छन् । उनीहरूको दायित्व पूरा गरेपछि गाउँमा बस्ने उद्देश्य छ । काठमाडौँमा घर–घडेरी जोड्नेतिर ध्यानै गएन ।
हाम्रो भेट ललनको चिया पसल गराउँछ । यसो भनौँ, धेरै बुढापाकाहरूको सम्पर्क सेतु बनेको छ । हाँसेर बोल्ने र छिट्टै नरिसाउने स्वभावले प्रभावित तुल्याएको छ । बालबालिकादेखि वृद्धवृद्धासँग समेत उस्तै व्यवहार गर्छ । अझै हिन्दी–भोजपुरी मिश्रित नेपाली बोलीले झनै लठ्याउँछ ।
राम्रो चलेको छ पसल । बिहान–बेलुका त थामी नसक्नुकै भिड लाग्छ । चियाकै कारण परका समेत धाएर आउँछन् । वृद्धवृद्धा र खाडी मुलुकमा काम गर्न जाने तयारी गरिरहेका युवा मुख्य ग्राहक हुन् । नजिकका वर्कसप, बसका काउन्टर र कारखाना मजदुरहरूको उपस्थिति पनि बाक्लै हुन्छ ।
विदेशिने युवायुवतीलाई नजाने सल्लाह दिन हिचकिचाउँदैन ललन । ती निरुत्तर बन्छन् । मुखामुख गर्दै अनुहार निन्याउरो बनाउँछन् । “कामै नगरी खान त कतै पाइन्न हजुर, यतै गर्नोस्, त्यताको भन्दा बढी आम्दानी हुन्छ” हाँसेर भनिदिन्छ । “यो न सोच्नोस् त्यता सुखै सुख र यता दु:खै दु:ख छ” थप्छ ।
पसलले नै चिनारी गराएको हो हामीलाई पनि । निस्कने क्रम चल्यो । धेरै पुगियो– पशुपति, गुहेश्वरी, बौद्ध, गोकर्ण, स्वयम्भू, त्रिभुवनपार्क र कृष्ण मन्दिर । घर–परिवार, आफन्त, छरछिमेकले स्थान पाए ।
छोराछोरी र श्रीमतीको प्रसङ्ग आउँदा चन्द्र बद्लिन्छ । बोलीमा खस्रोपना देखापर्छ । गला अवरुद्ध बन्छ । आँखा रसाउँछन् । घोसे मुन्टो लगाएर आँखा चिम्म पार्छ । एक अर्कोकोमा जाने र चिनजान सुमधुर बनाउने सोचमा केही बोल्दैन र सहमतिमा साथ पनि दिँदैन । यस्तै चक्रमा पर्यो होला – सोच्छ मन । तथापि भेटघाट, कुराकानी र विचार–विमर्श निरन्तर चलिरहन्छन् ।
मैले निम्त्याए देखि एकाएक भेटघाट हुन छाड्छ । चिया पसलमा पनि आउँदैन । “कता गयो होला त ? बिरामी पो पर्यो कि !” मिहीन ढङ्गले खोज्छन् आँखा । अहँ पत्ता लाग्दैन ।
एकदिन बाटोमा भेटिन्छ । आफै मुख खोल्छ– “माफ गर्नुहोला, हतारमा मैले जन्मघर जानु पर्ने भो ।” मेरो टाउको हल्लिन्छ । खिस्स हाँस्छ । “हो, त अनायास घर जानुपरेछ” मन मुस्कुराउँदै भन्छ ।
भेटघाटले निरन्तरता पाउँछ । आफ्नै तालतौरमा हिँडिरहन्छौँ । दिन बिराए भेटघाट भइरहन्छ । एउटा सहकारीमा सुरक्षकको काम भेटिन्छ । त्यसपछि सार्वजनिक बिदा र विशेष अवस्थाबाहेक दिउँसोको भेटघाट बन्द हुन्छ । तर पनि भेटिन्थ्यौँ, गफिन्थ्यौँ, कुराकानीमा हराउँथ्यौँ ।
अर्कोपटकको निम्तामा समेत अनुपस्थित रह्यो । कोठामा एक्लै भेटिन्छ । खाना आफैँ बनाउँछ ।
“खोइ त चार सन्तान ?” प्रश्न फुत्किन्छ मेरो मुखबाट ।
अकमकिँदै भन्छ “माइती–मावली” मलाई शङ्का लाग्छ, ।
“यति सानो कोठामा कसरी अट्छन् ?” मनमा प्रश्न जन्मन्छ ।
“सबैलाई एकै पटक पठाएको ?” म नसोधि रहन सक्दिन ।
“सजिलो नि” सजिलो नि ऊ सहज भावमा भन्छ । पुष्टि कोठाले गर्छ ।
“छ प्राणी अटाउने कोठै होइन” मन भन्छ ।
सोचाइका गन्तव्य फरक–फरक छन् । भोगाइ र आदर्श अर्को प्रसङ्ग । यी बाटोबाट खुरुखुरु हिँड्दैनन् । आफैँ खोज्छन् । घर भत्कियोस् वा बिग्रियोस् केही सोच्दैनन् । घर भत्किएका छन् र क्रम रोकिएको छैन । विश्वासमा आगो लागेपछि हुने गर्छ त्यस्तो । यो कसैको चाहनाभित्र पर्दैन । “सम्भवत: त्यस्तै नियति भोगिरहेको होला” मन खुसुक्क भन्छ ।
बसाइले पूर्वस्मृतिमा पुर्याउँछ । एकपटक कोठा पुगेको थिएँ । बिरामी रहेछ । सिरानीमा औषधि थियो । अधवैंसे महिला कोठाको सफाइ र युवती लुगा व्यवस्थापनमा तल्लीन थिए । निस्लोट रहेछ । धेरै बोलेन । महिलासँग जानकारी बटुलेँ । हिँड्ने बेलामा कानमा भनिन् “म पत्नी र ऊ छोरी ।”
अर्को भेटमा तङ्ग्रिदै गरेको बतायो । आरामभन्दा बढी भन्न सकिन । बोल्ने मुडामा नरहेको हतारोले बताइरहेको थियो । त्यो दिन अल्ली छिट्टै हिँड्यो ।
“समस्या के होला त ?” अलि पाकै उमेरको छ ऊ पाँच सात वर्ष । अनुभवसमेत त्यस्तै होला । हाजिर जवाफी शैलीमा वार्तालाप भएको छैन । सन्देह राख्छु । चाह नहुँदा–नहुँदै पनि स्थिति आत्मसात गर्छु । समस्या राखोस् र समाधानका निम्ति पहल गर्न आग्रह गरोस् म चाहन्छु । ऊ थाहा नपाओस् भन्ने सोच राख्छ ।
असनमा एकदिन पत्नी भेटिइन् । दोधारमा परेँ । छोरी पनि थिइन् । नमस्कार स्वीकार्दै फिस्स हाँसेँ । दोस्रो भेट थियो । “केन्द्रीय क्याम्पसमा एमएस्सी पढिरहेकी छे” छोरी देखाउँदै भनिन् । आँखा जुधे ।
“सानोतिनो जागिर पनि गर्छे । आमा छोरीको जीविका चलेको छ । उहाँलाई पनि विगत भुलेर सँगै बसौँ भनेका छौँ तर मानिरहनुभएको छैन,” टक्क अडिइन् ।
मनभित्रको संशय अझै बढ्छ ।
“कुरो के हो ?” प्रश्नले बारम्बार घोच्छन् ।
“किन त ?” प्रश्न जन्मन्छ र असावधानीका कारण फुत्किन्छ । सचेत हुन्छु । दुवैका आँखाबाट आँसुका धारा बग्न थाल्छन् । अव्यक्त पीडा छ भन्ने कुराको महसुस गराउँछ । बिदा माग्छु । पर पुगेर पछाडि फर्कन्छु । तिनीहरूका आँखा मैतिर हुन्छन् ।
बाटोभरि कस्तो–कस्तो लागिरहन्छ । चन्द खुलस्त बन्न सकिरहेको छैन ।
“नाजायज प्रश्न पो गरेँ कि” मनमा लागिरहन्छ । उत्तरको खोजीमा भौँतारिन्छु । हुन्छ वा हुँदैन, हो वा होइन र राम्रो वा नराम्रोको बिचमा विचार उडिसकेको तथा अझै उडिरहेछ । कहिले कता त कहिले कता पुग्छ । सोच्दै र विचारमा पग्लँदै अलमलिई रहन्छु ।
एक महिनाअघि रहस्य कोट्याएको थियो । त्यो मनमा अहिले पनि ताजै छ । हिजो मात्र हो झैँ लागिरहेछ । त्यसपछि ममा परिवर्तन आइरहेछ । संशय क्रमश: घटिरहेछ । कुरा सुनाइसकेपछि आङ तान्दै भनेको थियो– “निकै हलुङ्गो महसुस गरिरहेछु ।” लामो सास तान्दै आकाशतिर फर्किएको थियो ।
शनिबार बज्रयोगिनी घुम्न जाने प्रस्ताव राख्यो । असहमतिको कुरै थिएन । मन्दिर छेवैको खुला ठाउँमा बित्यो समय । असामान्य थियो मुखाकृति । छातीका असहजताले घुमाइरहेको जस्तो देखिन्थ्यो । कम बोलिरहेको थियो । सोध्ने बहाना खोजिरहे पनि जान सकिरहेको थिइनँ । आवेगात्मक छ भन्ने कुराले मनमा आसन जमाइरहेछ । घरीघरी मौनता तोडियोस् भन्ने सोच्दै थिएँ ।
रूख मुनि थियौँ । अन्य कोही थिएनन् । आँखा आँसुले भरिएका थिए । मेरो हात च्याप्प समात्यो । केही भन्न खोजे पनि सकिरहेको थिएन । मन मडारिइरहेछ भन्ने अनुमान गर्न सकिन्थ्यो ।
पछि नदीजस्तै बग्न थाल्यो । छोरी जन्मिएपछि दोस्री भित्र्याएछ । सैनिक सहकर्मीको विधवा बहिनी दाजुको आग्रहमा स्विकारेछ । पहिलोबाट एक छोरी रहिछिन् । कष्टकर रहेछ जीवन । २२ वर्षमा पति बितेका रहेछन् ।
मन पग्लेछ र बगेछ मज्जैले । छ महिने दुधे बालक छोरी र सुत्केरी पत्नी भुलेछ । त्यही कुरा उठाएको हो मसँग एक महिना अघि ।
दोस्रीबाट दुई छोरा जन्मिएछन् । शान्ति सेनाबाट फर्केर घडेरी किनेछ । सञ्चयकोष सापटीसमेत थपेर घर बनाएछ । पहिलो पत्नीलाई पनि कोठा दिएर बोलाउने सोच बनेछ । प्रस्ताव राखेछ । अनि सुरु भएछ खटपट । १२ कोठे घर निर्माणपछि परिस्थितिले कोल्टो फेरेछ र मनोमालिन्यता फराकिलो बन्दै गएछ ।
स्नातकपछि छोरीको विवाह गरिदिएछ । सेवानिवृत्त हुँदा प्राप्त पैसामा सापटी गरी पत्नीकै नाममा पसल खोलेछ । यता असहजता बढ्दै गएछ । केही समयबाहिर बस्दा समाधान हुन्छ कि भन्ने विचार खेलेछ । तर मनको दुरी उकालो लागेछ ।
आत्महत्यादेखि आमहत्यासम्मका विचार खेलेछन् आँखामा । म स्वीकार छु र आत्मआलोचना पनि गर्छु तर त्यतिले पुग्दैन भन्दै भौँतारिएछ । समाधानको पाटो पत्ता लागेनछ । पलायनता पनि उत्पन्न भएछ तर जीवनभरको कमाइ छोडेर रित्तो हात कता जानु ? पोलाइले डामेछ मन ।
जेठी पत्नी र छोरीप्रतिको व्यवहारले चहर्याएछ । दोस्री अपनाउँदा सहनुपरेका चोट आँखा अगाडि डङ्गुर लागेछन् । कति गर्दा पनि पन्छाउन सकेनछ ।
आफन्ती गुहारेछ । तर कोही पनि चुरो खोज्नतिर लागेनछन् । घरायसी मामिलामा बाहिर जानु आवश्यक होइन भन्ने धारणा बनेपछि आफन्त गुहार्ने क्रम चलेछ । मनले जो जसकोमा पुगे पनि समाधानतिर नगएको आभाष गरेछ ।
“जेठी पत्नीका साथ बसे भैहाल्यो नि” मेरो सल्लाह थियो– सकारात्मक व्यवहार गरेको छैन । त्यसले आत्मग्लानी गराइरहेछ । आफैँदेखि लज्जित छु । कुनै पारिवारिक दायित्व बहन गर्न सकेको छैन । यति हुँदाहुँदै पनि ती सघाइरहेछन् । विगत सम्झँदा छाती नराम्रोसँग दु:ख्छ । तिम्रो कुरा मान्न समेत सक्दिनँ ।
अस्तिकी पहिली पत्नी हो र छोरी साथमा थिई । ती बेलाबेलामा आउँछन् र सघाएर फर्कन्छन् । म कहाँ नआउन भन्ने मेरो इच्छा छ । तर आइदिन्छन् । मुटु छियाछिया हुन्छ । भुलले पोल्न थाल्छ । सच्याउने ठाउँ खोज्छु, तर देख्दिनँ ।
यतिखेर दिने माया, ममता र सद्भाव केवल आडम्बर लाग्छ । आवश्यकतामा कहिल्यै उपस्थित हुन सकिनँ । आँसुमा पौडन्छु र पीडाको सागरमा चुर्लुम्म डुब्छु ।
जसका निम्ति वा जसलाई गरेँ ती विमुख हुन खोजिरहेछन् । सम्पूर्ण कमाइ त्यहीँ छ, बिर्सेर कता जानु ? हुँदाखाँदाको पत्नी र छोरी तिरस्कारेर बनाएको हुँ दोस्रो घरवार । यतिखेर स्वीकृतबाट अस्वीकृत र अस्वीकृतबाट स्वीकृत भइरहेछु । बेलाबेलामा आपूmले आफैँलाई लोप्पा खुवाउन मन लाग्छ ।
यो तेस्रो विकल्प हो । पेन्सनसमेत दुई भागमा विभाजित छ । आधाले गुजारा चलाइरहेछु । हेरौँ पछि जे त होला । खुइय गर्दै मसँग आँखा जुधाउन खोज्छ । म उसैलाई हेरिरहेको छु ।
“सबै समस्या उछाल्छन् मात्र समाधानतिर कोही लाग्दैनन् आँखाभरि आँसु बनाउँदै भन्छ ।
कारक मै हुँ । जानाजान गरेको थिएँ । सहारा बनिरहेछु भन्ने विचारमा उद्वेलित थियो मस्तिष्क । उद्दार नै जीवनको वास्तविक अर्थ हो भन्ने सोचले घर गरेको थियो । सुनेको पनि थिएँ । त्यो भावना मात्र रहेछ । सुनाइ, देखाइ र कल्पना यथार्थमा परिणत हुन कठिन छ । नियति भोगिरहेछु । छोराहरूसमेत पक्षमा उभिन सकिरहेका छैनन् । कान्छो त पछिसम्म थियो तर आमाको वाक्यले मुख बुझो लाग्यो ।
लोकलाज कठिन रहेछ । भासियो छोरो । मुख बन्द भयो । घर छाड्न बाध्य भएँ । अत्यन्त कठिन थियो त्यो क्षाण । कसैले कल्पना गर्दैनन् । मनभित्रका काला बादल मडारिए । सहनु आपूmलाई नपुंसक सावित गर्नुहुन्थ्यो । आफन्त पीडा पचाउन सकिनँ ।
भेलामा छिमेकीसमेत थिए । कान्छो सघाइरहेको थियो । अन्तिम प्रयासमा थिएँ । निकास पाउनेमा ढुक्क थियो मन । तर भएन । फरक बाटोमा हिँड्यो । धमिलोको भाष पहिल्यैदेखि थिए । अशोभनीय लाग्यो । अधिकांशले जिब्रो काढे । कतिपय त उठेर पनि हिँडे । सासु–ससुरा दुवैको उपस्थिति थियो । ती कालानिला बने । जेठानसमेत औँला ठड्याइमा परे । कसैले प्रतिकार गरेन ।
केन्द्रबिन्दुमा थिएँ । आङ जिरिङ्ग बन्यो । के गरौँ कसो गरौँ भयो । अगाडिको संसार कालाम्मे लाग्यो । को–के बोलिरहेको छ ठम्याउन असहज भयो । माइती पक्षको विशेष उपस्थिति थियो । अघिसम्मका सकारात्मक विचारकाहरू कि चुपचाप लागे कि त बोली फेरे । झिनो आशा पनि बिजुलीको तारमा झुन्डियो । मसँग दु:ख्नुभन्दा बढी विकल्प रहेन ।
म लोग्ने नै नभएको जिकिर गरी । सबै स्तब्ध भए । प्याक–प्याक्ति बने मुख । कसो गरौँ र कता जाउँजस्तो लाग्यो । टाउको उठाएँ । मुखामुखमा रहेछन् सबै । ऊ बोलिइरहेकी थिई । रोक्ने क्षमता थिएन । विचार न सुनिसक्नु न त बुझिसक्नुका थिए । शौचालय पुगेर फर्केँ ।
उपस्थितहरूको सङ्ख्या अझै गणनीय थियो । अर्थ थिएन । तथापि सानो छोरो, विवाह गराइदिने दाजु, सासु र केही छिमेकी बोले । दमदार ऊ मात्र थिई । चर्को बोली । सशक्त प्रतिकार नहुनुको अर्थ समर्थन हो । त्यस्तै भयो । मेलमिलाप र एकताका कुरा गर्नेहरूले कुरा चपाए ।
मेरा नाममा जग्गा नै नभएपछि घर हुने कुरै थिएन । जागिरको कारण अधिकांश समय ब्यारेकतिरै बस्ने हुँदा छिमेकीहरूसँग खासै उठबस हुँदैनथ्यो । सामान्य भेटघाट र भलाकुसारीले परिपक्व चिनारी दिँदैनथ्यो । म पाहुना हुँ वा घरवाला मतलबको कुरो थिएन । व्यस्त सहर कसैको खासै चियोचर्चो पनि गर्दैन । आपूm बाँच्न नै धौ–धौ हुन्छ त्यसैले छिमेकीको पछि लागि रहँदैन । व्यस्तताले को, किन र के कसरीमा पुग्न दिँदैन ।
उसले ठाडै भनी “यी छोराहरूको बाबु ऊ होइन । अनौठो लाग्ला तर वास्तविकता त्यही हो ।” त्यसपछि उतै सोझिएका थिए सबै । कान ठाडो–ठाडो थियो ।
“ऊकेवल नाठो मात्र हो । त्यही पनि अशक्त छ । उसको सहाराले म होइन मेरो सहाराले ऊ बाँचेको हो । उसमा बाबु बन्ने सामथ्र्य छैन ।” आमालाई यसो पनि भनेकी थिई ।
“सन्तान जन्माउन लोग्ने नै चाहिन्छ भन्ने कुरा पनि मिथ्या हो” उसले यसो पनि भनेपछि मजेत्रोले अनुहार ढाक्दै आमा थुचुक्क बसेकी थिइन् ।
“घर निर्माणमा पनि कुनै भूमिका छैन । यो त मेरो पूर्वपतिको कमाइ हो यो । केवल सम्पत्तिका लागि जालझेल गरिरहेछ । मानसिक पीडा देखाउनै नसकिने छ । मलाई सहयोग गरिदिन पर्यो, आइन्दा मेरो नजरमा देखा नपरोस् ” सबैसँग हात जोडी ।
परिस्थितिले अर्को मोड लियो । म अवाक बनेँ । आडैमा उभिइरहेको कान्छो छोरोलाई तान्दै भनी “सन्तानलाई के थाहा बाबु को हो भन्ने कुरा । त्यो मलाई मात्र थाहा छ र निक्र्योल गर्न सक्छु । मैले सङ्केत गरेको कुरा तिमीहरूले मान्ने हो । यताउति गर्ने कुनै अधिकार छैन ।”
बिचेत भएँछु । अस्पताल पुर्याइएछ । होसमा आउँदा कान्छो सालो अगाडि थियो । सलाइन चढाइएको रहेछ । जिउमात्र हैन टाउकोसमेत दु:खीरहेको थियो । बोल्न सकिरहेको थिइनँ । ओठ खोल्ने प्रयास विफल बनिरहेको थियो । पानी मागेँ । इशाराले नै नबोल्ने आग्रह गर्दै मेरो अनुहार विस्तारै सुमसुम्याएर तुरुक्क आँसु झार्यो ।
डिस्चार्ज पछि अन्योलमा परेँ । उसले आफैँसँग जान अनुरोध गर्यो । जेठानले पनि त्यसै भनेका थिए । अलि दिन घरमा बसेर तङ्ग्रने अनुरोध आयो । दिदीका कुरा बिर्सिदिन भन्यो ।
घर जिन्दगीभरिको कमाइ थियो । पेन्सन आधा छोराका पढाइका निम्ति थियो । विमति जनाएँ । दुवैका आँखामा आँसु टिलपिलाए । काठमाडौँको बस चढेँ । बस निकै अगाडि पुगेपछि पछाडि फर्केर हेरेँ त्यतिखेरसम्म पनि उसका आँखा बस तिरै थिए ।
गाउँले भाइको सहारामा कोठा लिएको हुँ । ठ्याक्कै तीन वर्ष भयो । पहिला चाबहिलमा थिएँ । एक वर्षपछि जोरपाटी सरेँ । यसरी देखायो विगत । नमिठो लाग्यो । टोल्लिए मेरा आँखा पनि । उसका आँखा पुछिदिएँ । गज्जबको संयोग, उसको कथामा मेरा आँखा पनि रसाए । अविश्वास बिस्तारै उडेर धारणामा बदलियो ।
केही पछि सुनायो– हरेक आइबार घर हेर्न जान्छ । तर छेउछाउमा पुग्दैन । टाढैबाट हेर्छ र फर्कन्छ । चिनेका नै भेटिए पनि बोलचाल गर्दैन । छिमेकीसँग पनि सम्पर्क गर्दैन । अलिपरै घर देखिने स्थानमा बसेर चिया पिउँछ ।
उत्सर्ग सम्झन्छ । कृतघ्नता आँखाभरि छताछुल्ल पोखिन्छन् । अलिकति दु:ख्छ, खुम्चन्छ र विगतमा हराउँछ । भावनामा पौडन्छ अनि उद्दारको बदलामा पाएको नपुंसकताको उपहार बोक्छ ।
आँखामा हिजोका दृश्य उपस्थित बन्दै जान्छन् ।
आइतबार जानुको सन्दर्भ सुनाउँछ । सबै काममा हुन्छन् । परिचित कोही भेटिँदैनन् । को आए र को गएको मतलब हुँदैन । घर पसिनाको थुप्र्रो हो । त्यसमा रगत, श्रम, सिर्जना र जीवन सबै जोडिएको छ । मेरो मानेमा शतप्रतिशत त्यही हो ।
लोग्ने नभई नाठो र त्यसमा पनि अशक्त वा नपुंसकसम्मको आरोपको साक्षी बस्ने छिमेकी र आफन्तसँग प्रतिवादन गर्न नपारेस् भन्ने अभिप्राय छ । त्यसैले त्यस्तो समय रोजेको हुँ ।
आँखा अझै ओभाएका छैनन् । रसाएको रसायै छन् । सुँक्क–सुँक्क गरिरहेछ । सारा अनुरोध, सुझाउ, सल्लाह र आग्रहले आंशिक काम गरिरहेछ । पूर्ण इन्कारेको पनि छैन । पहिला स्विकार्छ, टाउको हल्लाउँछ र सहमतिमा जाने प्रतिबद्धता जनाउँछ तर अल्लि पछि ती क्रमश: भुल्दै जान्छ । सम्भवत: टाउको हल्लिए पनि छाती ती कुरा स्वीकार्न सक्दैन । अनि ऊभित्रको धैर्यताको बाँध फुट्छ र गडगडाएर बग्न थाल्छ ।
विचरा चन्द्र ! नपुंसकताको कसरी प्रतिवाद गरोस् ! धनसम्पत्ति र गुमेको ऐश्वर्य फेरि प्राप्त गरेको उदाहरण धेरै छन् । तर नैतिकता, नपुंसकता र अयोग्यता गुमे ? त्यही पनि श्रीमतीबाट । पुष्टिको निम्ति केही बोल्न सकेन वा हास्यमा उड्यो त्यो प्रसङ्ग । उसको आत्मसम्मानमको चोट कसरी निको होला ? मनमा घुमिरहेछ यो प्रश्न ।
हरेक साताको आइतबार उसका आँखा रसाएकै हुन्थे । म मौन रूपमै उत्तर खोज्थेँ । किन ? तर उत्तर भेटिदैनथ्यो । र ऊ पनि भन्दैनथ्यो ।
ऊ जब–जब घर भएको टोलमा पुग्थ्यो तबतब आपूm उभिएको जमिन भासिएझैँ लाग्थ्यो । वरिपरिका परिवेश पूर्ण रूपमा निर्जन लाग्थे । बाँचेको संसार निस्सार लाग्थ्यो । समाधान थिएन । त्यसैले यदाकदा भौँतारिएरै बिताउँथ्यो आइतबारको रात । हो, हरेक आइतबार बल्झन्थ्यो घाउ र शनिबारसम्म त्यसमा खत बस्थ्यो ।
बनेपाको रिया होलटमा हिजो डाँकै छाड्यो । “पेटभरि रुन दिऊँ” एक मनले भन्यो ।
“हुँदैन” अर्को मन मानेन ।
हेर्नेहरूको कोहेरले घेर्यो । ती मसँग कारण सोध्ने सोचमा थिए सायद तर सकिरहेका थिएनन् । तर म त्यो सार्वजनिकीकरण गर्न सक्ने पक्षमा थिइनँ । सबै प्रश्नका उत्तर हुँदैनन् र भए पनि दिन सकिन्न ।
सोध्ने अधिकार थियो । त्यसैले सोध्न खोजिरहेका थिएँ । हिजो बेलुक गएका हौँ बनेपा । एकरात होटलमा बित्यो । विभिन्न स्थानहरू घुम्यौँ, डुल्यौँ र हिँड्यौँ । कसैका प्रश्न मेरा अगाडि आउन सकेनन् । खुसी थिएँ । एकातिर कसैले चिन्ला र बोलाउला भन्ने पिर अनि अर्कोतिर उसको वर्तमान । बेसमयको बुढो रुवाइ, यथार्थ छोप्न विवश थिएँ । त्यसो त मेरो परिचय नजाने पनि उसको लुकाउन सकिने अवस्था थिएन ।
घुम्ने प्रस्ताव उसैको थियो । सार्वजनिक बिदा नपरेको दिनमा भन्ने थियो टुङ्गो । मैले समय व्यवस्थापन गर्न नसकेकै कारण भइरहेको थियो विलम्ब । यसपटक सार्वजनिक बिदा नभएकै दिन जाने प्रस्तावमा म सहमत बनेँ । आउनुको मूल लक्ष्य उसकै घर हेर्नु हो । ऊ मलाई घर देखाउन चाहन्थ्यो । मेरो मनमा पनि थियो जिज्ञासा । उत्पन्न संशय हटाउन पनि हेर्नु थियो घर ।
टाढा बसेर चिया पिउँदै घर हेर्यौँ । आँखाबाट बलिन्द्र धारा आँसु झर्न थाले । रोक्न सकेन । थुचुक्क बस्यो । रोइकराई गर्न थाल्यो । बल्ल–बल्ल सम्झाएँ । फर्कँदा पनि आँखा चुहिन रोकिएन ।
गौशाला ओर्लिएर यहाँ आएको पनि झन्डै दुई घण्टा बितिसकेको छ । यतिखेर मज्जाले निदाइरहेछ । म आरोपबारे सोचिरहेछु । उसको घर, सपना, जिन्दगीको कमाइ, पारिवारिक सदस्यहरू र आफन्त आँखामा घरिघरि आइरहेछन् । अगाडिको उज्यालोमा मेरो मन हिँडिरहेछ ।
स्वाभिमानबस्ती, जितपुर–सिमरा १६, बारा