कवि प्रचण्ड भाष्करका १० कविता


१. गुनासो
एउटा छोरो जो कहिल्यै
शहरबाट गाउँ फर्केन
एउटा छोरो जो कहिल्यै
गाउँबाट शहर छिरेन
खै किन हो बुवा दुवैसँग रिसाएका छन् ?!
२. जिम्मेवारी
बुवाले सिकाइरहे
व्रतको महत्व
आमाले सिकाइरहनुभयो
खानाको माहात्म्य ।
३. डर
निषेध गरेको छु
आफूलाई
मायाको जङ्गलमा पस्न
आफ्नो जलिरहेको हृदय बोकेर ।
४. प्राथमिकता
डाँफेको खोजीमा
निस्केको हिमाल
अल्झियो सरकारको नृत्यमा !
५. नियत
बाँध्न छोडेर
देशको घाउमा पट्टी
सरकार बाँधीरहेछ
पट्टी देशको आँखामा !
६. गल्ती
हिजो सम्म त्यागेर गुलियो
जो बाँचिरहेथ्यो मधुमेहबाट
त्यही मान्छे मरिरहेछ आज
चाखेर नेताको मिठो जिब्रो !
७. जिज्ञासा
सरकारसँग छैनन्
जनताका प्रश्नका उत्तरहरू
जनतासँग छैनन्
सरकारका उत्तरका प्रश्नहरू
मेरो देश अब कसरी उत्तीर्ण होला ?!
८. प्रवृति
हिजो जसले बेचे
मदिराको लागि बुढी औँला
तिनी आज लेखिरहेछन्
बचेका औँलाले दानापानी ।
९. परिस्थिति
बेला बेला
बुवाले नै किनिदिनु हुन्छ
छोराको लागि जुत्ता र चप्पल
एउटा कारण यो पनि हो
छोरा आफ्नो खुट्टामा उभिन नसक्नुको ।
१०. शङ्का
कतै नभएर पनि
हुनु भन्दा
खतरनाक हुँदोरहेछ
कतै भएर पनि नहुनु
यतिबेला म खतरामा छु ।