कवि अमर आकाशसँग कुराकानी

१. कविता लेखनको थालनी कसरी गर्नुभयो ?

विसं. २०६५/६६ सालतिर स्कुलको साथीले लेख्नुभएको किशोरवयका भावुक प्रेम कविताको डायरी देखेपछि डाढ लाग्यो र मैले पनि सुरू गरेँ । यो क्रम विसं. २०६८ सालसम्म चल्यो । ज्यादै कम लेखेँ । पछि शेरचनको कवितासङ्ग्रह फेला पारेँ र पढेँ अनि थन्काएँ । साझा प्रकाशनको दोकानमा मदन रेग्मी, उपेन्द्र श्रेष्ठ र शैलेन्द्र साकारहरूका कवितासङ्ग्रह हात लाग्यो र तातो बालुवाको रापमा भुटिएको जस्तो अनुभूति सुरू भयो । विसं. २०६८ सालमै पहिलो पटक प्रेम कवितालाई छाडेर रेग्मी शैलीको कविता बनाउने बहानामा कविताको स्वरूपजस्तो लाग्ने एउटा कविता लेखेँ । निराशा, कुण्ठा, आक्रोश यस्तै । केही दर्जन यस्तै लेखेँ ।

२. तपाईले नेपाली कविताको लगभग सबै कालखण्डका कविहरूलाई अध्ययन गरिसक्नुभएको छ । भर्खँरै तपाईको ‘टुङ्गना’ कवितासङ्ग्रह प्रकाशित भएको छ । कुनै खास कविको प्रभावबाट गुज्रनुभएर लेख्नुभयो कि भएन ?

पूर्ववर्ती स्रष्टाहरूलाई नपढी कसैले केही लेख्न सक्छ जस्तो मलाई लाग्दैन । भानुभक्तलाई पढेर लेखनाथले लेख्नुभयो, लेखनाथलाई पढेर देवकोटाले, माधव घिमिरेले अब यता रिमाललाई पढेर भूपीले, अनि पछि मञ्जुल, साकारहरूले लेख्नुभयो । हामीले ती सब क्रमिक रूपमा पढ्यौँ र लेख्यौँ । आफू अघिका कविहरूका कविताका कुनै न कुनै हरफ या शब्दद्वारा भावनात्मक प्रभाव ग्रहण गरेपश्चात् दिमागमा शब्द खेल्दो रहेछ । केही वर्षअघिसम्म आफूलाई बढी प्रभाव पार्ने केही कविहरूको हुबहु शैली उतार्न कोसिस गरेर पनि कविता कोरेँ । तर, सकिनँ र अर्कै हुन गयो । अहिले त्यो सब छैन । तर, कुनै पनि अघिल्लो कविको कुनै एक शब्दले मनलाई उक्साउने त हुँदो रहेछ ।

३. तपाईँले उल्लेख गर्नुभएको छ– ‘कविताबारे स्पष्ट हुनलाई दश वर्ष लाग्यो । कवि हुनलाई कति वर्ष लाग्ला, थाहा छैन ।’ खासमा तपाईँले भन्न खोज्नुभएको के हो ?

सत्यको साक्षात्कार नगर्दा लेखिएका जेसुकै चीज पनि कविता हुँदोरहेछ । मैले किशोरवयमा भावुक सस्ता प्रेम कवितालाई कविताको सत्य अनुहार मानेको थिएँ । पछि रिमाल पढेपछि कविता यो पो रहेछ भनेर चिनेँ । सत्यसँग साक्षात्कार गरिसके पनि चेतना नछिप्पिनाले यो पनि कविता, त्यो पनि कविता भन्ने हुँदा भनेर अघि बढिदोँ रहेछ । फेरि ज्ञान बढ्दै गएर चेतना छिप्पिँदै आउन थालेपछि छ्याङ्ङ हुने रहेछ । अब, अहिले म रिमाल या नागार्जुन त होइन ।

४. तपाई कवितालाई कसरी परिभाषित गर्नुहुन्छ ?

कविता व्यापक छ । परिभाषाको सीमानाभित्र यो अटाएको देखिनँ मैले । चेतनाले अनुभूत गर्छु । तर, उतार्न सक्दिनँ । यो आँखाले नदेखिने अर्को आकाशजस्तो लाग्छ कहिले त ! कविताको विश्वव्यापी भूगोल छ । यसको राष्ट्र, नागरिकता, धर्म र सम्प्रदाय केही छैन । बुद्ध या कन्फ्युसियसको ज्ञानजस्तै यसको नागरिकता छैन । मानव चेतनाको उपज हो यो । चेतना या बोध भन्ने चीजको के परिभाषा होला ?

५. ‘टुङ्गना’भित्र एउटा कविता छ– मसिहा पप्पी । यो कविता पढिरहँदा तपाईँको आत्मकथा पढिरहेझैँ लाग्छ । यस सन्दर्भमा केही बताइदिनुहुन्छ कि ?

हरेक कविको कविता आत्मकथा नै हो । जस्तो; तपाईँका कविताहरू । कति कविताहरूले सय प्रतिशत यथार्थमा अर्को धरातलको यथार्थलाई पनि आफूमा समाहित गर्न पुग्छन् । रिनी माग्रित या दालीका चित्रहरूजस्तो ।

६. तपाईँ कुन वाद च्यापेर कविता लेख्नुहुन्छ ?

वाद च्यापेर कविता लेख्ने काम मैले गरेको छैन । कुनै पनि वाद च्याप्ने हो भने तीनवटाभन्दा बढी कविता लेख्न सकिएला जस्तो मलाई लाग्दैन ।

७. तपाईँले कथा र उपन्यासमा पनि हात हाल्नुभएको छ । तपाईँलाई कुन विधा लेख्न सहज लाग्यो ?

कविता लेख्न सहज हो कि जस्तो लाग्यो ।

८. दर्शनशास्त्र र चित्रकलामा पनि तपाईँको अभिरूचि छ जस्तो लाग्यो । कविका लागि कविताबाहेक अन्यक्षेत्र महत्वको विषय हुन सक्छ ?

हुँदोरहेछ । चित्र र कविता त एक अर्काका पूरक नै हुन् । फेरि दुवैको आधारभूमि दर्शन हो । कविका लागि मात्रै होइन चित्रकारका लागि पनि दर्शन, कविता अभिरूचिको विषय हुनसक्छ र यी सबैले स्रष्टालाई खुराक दिने काम गर्दछन् भन्ने म सोच्छु ।

९. तपाईले रचना गर्नुभएका कविता समेटिएकाे किताब ‘टुङ्गना’ को आधारभूमि के हो ?

‘टुङ्गना’ को आधारभूमि मैले बाँचेको परिवेश हो ।

प्रस्तुति : ईश्वर थोकर

Leave a Reply