आधा मूल्य

- सुशीला देउजा
न्युजिल्याण्ड बस्ने भाइले अमेरिका बस्ने दाइलाई आत्तिँदै फोन गरेर भन्यो, “दाइ नेपालबाट आमाले रुँदै फोन गर्नुभएको थियो । आज बिहान बुबाको अकस्मात मृत्यु भयो रे । छिटो घर आइज भन्दै हुनुहुन्थ्यो । भाइले विनीत स्वरमा भन्यो ‘हेर्नु न दाई मेरो श्रीमतीको आज भोलि नै डेलिभरी हुनेवाला छ । म भइन भने उसलाई कसले हेरिदिन्छ । त्यसैले मैले आउन नसक्ने कुरा गरँे । दाइलाई नेपाल जान मिल्छ कि ?”
दाइले लामो हाई गर्दै भने, “हेर्न भाइ मेरो पनि त्यस्तै मजबुरी छ । लामो संघर्षपछि भर्खर मात्र अहिले नयाँ जागिर पाएको छु । बल्लतल्ल पाएको जागिर छुट्टी लिन त मिल्दै मिल्दैन । त्यसैले मैले आमालाई भाइलाई भन्नु भनेको थिएँ । तेरो पनि नमिल्ने रहेछ । लौ अब के गर्ने ?”
एकछिन् दुवै भाइ गहिरो सोचमा डुबे । एकछिनपछि भाइले एउटा उपाय निकाल्दै भन्यो, “बरु काकालाई बुबाको काजकिरिया गरिदिनुस् भन्नुपर्यो । आखिर उहाँ एउटै पेटको हो । यति गर्नु त उहाँको कर्तव्य पनि हो नि ।”
दाइलाई पनि यो कुरा मनासिब लाग्यो र नेपालमा यो कुरा सम्प्रेषण गरे ।
छोराहरुको नेपाल आउन नसक्ने कुरा बुझेपछि आफन्तहरुले काकालाई अनुरोध गरे । काकाले टकटकिँदै मलाई सन्चो छैन भने । उनी पनि म यो कठिन काम गर्न सक्दिन भनी पन्सिए ।
धेरै सरसल्लाहपछि आखिरमा ब्राह्मण राखेर काजकिरिया सिध्दाउने निधो भयो । ब्राहमणसँग दक्षिणाको मोलमोलाई सुरु भयो । धेरै छलफलपछि दुई लाखमा कुरो टुङ्गियो ।
छेउमा बसी यी सबै कुरा सुनिरहेका काकाले उनीहरुलाई रोक्दै भने, “दुईको आधा मूल्य पाए त दाइको काजकिरिया म नै गरिदिइहाल्छु नि !”