आधा फूल

दिनेश पाण्डे

सियोको टुप्पोजस्तो
जीवनको छोटो अध्याय
सुरु हुनै थालेथ्यो
फुल्दै थिएँ
बाआमाको ओठमा
केही सापटी मागेर जून
केही ऋण मागेर आकाश
मलाई अझै खुसी हुनुथियो ।

आमाको बिहानीघामझैँ नपोल्ने
न्यानो काख
बाको स्नेही अङ्गालो
साथीभाइसँगको भाँडाकुटी खेल
मलाई पुगेकै थिएन
पटक्कै पुगेकै थिएन
चौरभरिको धुलो
मलाई त समेट्नु थियो
घरको आँगन
आँगननिरकै केराघारी
नास्पाती, आँपको बोट
आहा ! ती वृक्षझैँ कति स्वादिला थिए
हजुरबा हजुरआमाका प्रेममय शब्दहरू !
पाठशालामा ज्ञान बाँढ्ने
पितातुल्य गुरुका
वेदका ऋचाझैँ पवित्र शब्द
सहपाठीहरूसँगको मस्ती
पाठशालाबाट फर्कँदाको खुसी
खुसी आमाले तुल्याउनुभएको खाजाको
स्वाद जिब्रोभित्र पस्न बाँकी थियो
सबै अधुरो भयो ।

सूर्यमुखी फुलेका खेतभरि
म खुसी फुलिरहँदा
मलाई तानेर
सूर्यमुखीको झ्याङमा लाने हात
ठानेको थिएँ
मेरो बाको जस्तै हो
मेरो दाइको जस्तै हो
मेरो साथीको जस्तै हो
जहाँ म निर्धक्क फुल्न सक्छु
निर्धक्क खुल्न सक्छु
तर, होइन रहेछ
त्यही दिनदेखि म फुल्न छोडेँ ।

असीम पीडाले म
रोइरहेँ, रोइरहेँ
ऊ रोएन
‘मलाई जान देऊ
म तपाईँकी छोरीजस्तै हुँ !’ भनेँ
उसले सुनेन
अग्नि पसेझैँ देहमा
आँखाको डिल हुँदै
समुन्द्रजस्तै बगे आँसु
उसले देखेन
हात जोडेँ
उसले देखेन
हेर्दाहेर्दै म बेहोस भएँ
अनि, ब्युँझदा अर्कै भएँ ।

बा भन्नुहुन्छ
–‘तैँले बाँच्नुपर्छ !’
साथीहरू भन्छन्
–‘हार नमान्, जुध् परिस्थितिसँग !’
टुक्रिएकी म
चुराजस्तै फुटेको छु
कहिले नजोडिने गरी
छताछुल्ल भएकी छु सिसाजस्तै गरी
मलाई अधमरो बनाउने
त्यो राक्षस
मजस्तै अरू कोही फूलको यौवन
चुँड्नलाई
शिकारी नजर डुलाउँदै होला
वर्षाैँ भयो
ऊ कानुनको फन्दामा परेको छैन
मलाई अब यो जिन्दगी पुग्यो
बाँच्ने अब रहर छैन ।
००

Leave a Reply