आत्मसमर्पण

– सरु कार्की

केही त गर्नैपर्छ अब तिमीलाई भुलाउन
तिम्रो यादमा रोइरहने मनलाई फुल्याउन

मतलब मतलब यो होइन कि अब तिमीप्रतिको माया रहेन
मतलब यो होइन कि यो मनमा तिम्रो सम्झना रहेन
तिमीप्रति त मेरो हक लाग्छ लाग्दैन थाहा छैन
मतलब यो होइन कि मप्रति तिम्रो अधिकार रहेन ।

तर सत्य यो पनि त हो कि तिमीलाई आफ्नो सम्झने अब
अधिकार रहेन ।
एकअर्काको बन्ने हाम्रो सपना अब साकार भएन

तिम्रो मायाको कदर नभएको हैन आफूभन्दा धेरै छ
तिम्रो त्याग, समर्पण नबुझेको हैन आकाशभन्दा फराकिलो छ

मलाई थाहा छ तिमीले जति माया अब मलाई कसैले गर्न सक्दैन
तिमीले बाहेक अब कसैले पनि मेरो एक्लोपन भर्नै सक्दैन ।

मेरा लागि रुने त्यो आँखामा बस्ने रहर मेरो पनि थियो
एकअर्काको मुहार हेरेर जीवन बिताउने रहर मेरो पनि थियो ।

तर तर तिमी अब अर्कैको बगैँचामा सजाइएको फूल बन्यौ
मालीलाई मूल्य चुकाइ टपक्क टिप्न मेरो आत्मसम्मानले दिँदैन
प्रत्येक बिहान मालीले तिमीलाई चुमेको हेर्न मेरो नैतिकताले दिँदैन
अनि अनि मूल्य चुकाएर आफ्नो बनाउन मेरो हैसियतले दिँदैन ।

तिमी कसैको बगैँचाको प्रिय फूल
मालीले चुनेर, रोजेर राखेको अमूल्य फूल
सवाल मालीको मात्रै हैन, तिमीलाई चुड्दा तिम्रा हाँगाबिँगाहरु पनि त सँगै चुँडिनेछन् ।
एउटा मन खुसी हुँदा त्यहाँ कयौँ मन कुँडिनेछन् ।
फूल आफ्नै चाहनाले टिपिएर पनि दोष टिप्नेलाई लाग्नेछ
प्रहार खुकुरीको हुनेछ, फेरि पनि दोष पीडा खेप्ने अचानोलाई नै लाग्नेछ ।

समाजले हेर्ने नजर आज पनि खै कहाँ सुध्रेको छ र ?
कृष्णको छेउमा राधा भएपनि के कसैले राधालाई उसको पत्नी मानेको छ र ?

मलाई थाहा छ, हजारौं फूलको बीच पनि तिमी एक्लै महसुस गर्छौ
कुडिन्छौ भित्रभित्रै, चुपचाप रुने गर्छौ
मालीले तिम्रो मौनतालाई कहिले बुझ्नेछैन
अनि मैले बुझेर पनि कहिले केही गर्न सक्नेछैन ।

मेरा आफ्नै बाध्यताहरु छन् ।
मेरो बाटो रोक्ने मेरो आत्मसम्मानहरु छन् ।

तिमीले अघि बढेर कदम चुम्दा मैले पछि हट्न सक्नुपर्छ
यिनै हातले तिम्रा मायाका लहराहरु काट्न सक्नुपर्छ

यदि अझै पनि
यदि अझै पनि तिमी, मेरै हुन तयार हौ भने
यो संसारमा त सम्भव छैन
मैले सधैँको लागि संसार त्यागेर मर्नुपर्छ
तिमीले आत्मसमर्पण गरेर मेरै छातीमाथि झर्नुपर्छ ।

Leave a Reply