आकाश छुने नेताहरु

  • गीता खत्री, न्यूयोर्क

अमेरिकाको साउथ डकोटा राज्यले पर्यटकहरु लोभ्याउने रमाइला ठाउँहरु मध्ये माउण्ट रसमोर (Mt, Rushmore) पनि एउटा हो । यो ठाउँ किस्टोन शहरमा पर्छ । साच्चै भन्ने हो भने न्यूयोर्क, शिकागो, लस एन्जेल्सतिर बस्ने मान्छेले यस्ता शहरलाई शहरै मान्दैनन् । गाउँ सम्झन्छन् । यस्ता शहरहरुमा नगरपालिकामा हुनुपर्ने सबै किसिमका सुख, सुविधा, बैभव आदिको कुनै अभाव हुदैन । यी शहरहरुमा केबल चारपांँच सयदेखि साठी सत्तरी हजारको जनसख्यांमात्रै हुन्छन् । जसरी हामी एक गाउँका मानिसले अर्को गाउँका मानिसलाई राम्रैसंग चिन्छौ त्यस्तै यी शहरका मानिसले पनि एकले अर्कालाई राम्रोसंग चिनेजानेका हुन्छन् । एक आपसमा सहयोगको आदानप्रदान हुन्छ । बाटो हिड्न पनि सजिलो हुन्छ । ट्राफिक जामको समस्या कहिले झेल्नु पर्दैन । ठूला शहरमा बस्ने ठालुहरुले यसलाई गाउँले र पाखे भन्ने चलन यता पनि नदेखिएको होइन ।

सानासाना पहाडहरुको खोंँचमा किस्टोन (Keystone) शहर बसेको छ । शहरबाट पाँचदश मिनेटकै ड्राइभिङमा माउण्ट रसमोर पुगिन्छ । पहाडी खोंच भएकोले होला पार्किङ लटहरु फराकिलो नभइ तल्ला तल्लामा विभाजित छन् । दश डलरले दिनभरी पार्किङ गर्न पाइने रहेछ । सोमबारको दिन दुई बजेपछि भएर होला हामी त्यहाँ पुग्दा त्यती भीडभाड थिएन । माउण्ट रसमोर नेशनल मेमोरियलको गेट विशाल थियो । अग्लो ठाउँमा भएर होला परपरसम्मका डाँडाहरु प्रस्टै देखिने । सांच्चै भन्ने हो भने यताका पहाड, डाँडापाखाका कुरा गर्दा नेपालको जस्तो विशाल पहाड, घोप्टेभीर, अन्नपुर्ण, जुगल हिमाल आदिसंग तुलना गर्न मिल्दैन । वायोमिङ राज्यको सिमाना छोडेर साउथ डकोटा टेकेदेखि नै हरिया विरुवापात र हरिया घाँसे चौर देखिन थालेको थियो । त्यसैले होला माउण्ट रसमोरको वरिपरिका सबै डाँडाहरु हरिया रुखैरुखले भरिएका छन् । त्यसमा पनि सल्लाका रुखहरु धेरै देखिए ।

मैले गेटबाटै भित्रतिर दृष्टि फ्याँके । देखेर अचम्भित भएँ । मैले देखिरहेका ती दृश्यहरु यस भन्दा पहिले नै मैले देखिसकेको थिएँ । पोष्टरमा देखें वा ब्रोस्युरमा देखें, सम्झना गर्न सकिन । ती दृष्यहरु देखेर हेर्ने रहर नउब्जेको पनि होइन । तर संधै केही न केही काममा व्यस्त भइरहने भएकोले मनको कुरा मनभित्रै बसिरहे, बाहिर आएन । बाहिर आएका भएपो घर सल्लाह हुने थियो, योजना बन्ने थियो र एक दिन त्यसैको अगाडि फोटो खिच्न पुगिन्थ्यो ।
वायोमिङ, नेब्रास्का र साउथ डकोटा राज्यमा यसअघि हामी गएकै थिएनौ । त्यसैले जहांँ गएपनि हाम्रा लागि नयांँ ठाउँ हुनेछ । त्यहाँको जुन ठाउँमा पुगेपनि हामीलाई रमाइलै लाग्ने छ भन्ने सोचेर छोराबुहारीको योजनामा हामी निर्धक्कसंग निस्कियौं ।

संयुक्त राज्य अमेरिकामा आ—आप्mनो समयमा प्रसिद्धि कमाएका चार जना राष्ट्रपतिहरुको मूर्ति यो पहाडमा पहाडकै ढुङ्गा कुँदेर बनाइएको छ । संयुक्त राज्य अमेरिकाको सबै भन्दा पहिलो राष्ट्रपति जर्ज वाशिङ्टन, तेस्रो अमेरिकी राष्ट्रपति थोमस जेफरसन, सोह«ौ अमेरिकी राष्ट्रपति अब्राहम लिंकन र छब्बिसौं राष्ट्रपति थियोडेर रुजभेल्ट । जर्ज वाशिङ्टन अमेरिकाको पहिलो राष्ट्रपति र फाउण्डिङ् फादर मध्येका एक हुन । थोमस जेफरसन पनि फाउण्डीङ फादर मध्येका एक हुनुका साथै उनी स्वतन्त्रता घोषणपत्रका लेखक पनि हुन । यिनले लुजियाना राज्य खरिद गरेर अमेरिकालाई निकै ठूलो बनाए । पछि उनले युनिभर्सिटी अफ भर्जिनियाको स्थापना पनि गरे । अब्राहम लिंकनले सयौं बर्षदेखि चल्दै आएको दासप्रथालाई मुक्ति दिए । त्यसैगरी अमेरिकी राज्य युनियन र फेडरल सरकारलाई पनि निकै बलियो बनाए । यिनलाई महान अमेरिकी राष्ट्रपतिको रुपमा लिइन्छ । थियोडर रुजभेल्ट अमेरिकाका पाँच जना उत्कृष्ट राष्ट्रपतिहरु मध्येमा पर्छन । यिनले नेसनल पार्क, जंगल र मोनोमेण्टस्को जगेर्ना गरे साथै पानामा क्यानल पनि यिनकै पालामा बनेको हो ।

त्यती अग्लो पहाडमा चारचार जनाको टाउको ढुङ्गा घोटेर, काटेर बनाउनु त्यती सजिलो कार्य थिएन । कति धेरै मेहनेत गरे अमेरिकी जनताले । यो काम सकिन चौध बर्ष लाग्यो रे । ती मूर्तिहरु यति बिशाल छन् की धेरै टाढाबाट पनि देख्न र चिन्न सकिन्छ । मैले मनमनै सोचें यात्रो दुःख किन गर्नु प¥यो होला अमेरिकी जनतालाई । अर्को मनले उत्तर दियो— मानिसले गरेका राम्रा नराम्रा कामहरु समयको अन्तरालमा हराउंदै जान्छ, बिर्सिदै गइन्छ र एक दिन लुप्त हुन्छ । मानिसको सिर्जना आपैm अचम्मको छ कि मान्छे त्यही हो कहिले असल र उत्कृष्ट काम गर्छ कहिले कुण्ठित, कुपित र अपराधिक काम गर्न पुग्छ । तर उसलाई थाहै हुन्न की उसले अपराधिक, अमानवीय र कुण्ठित काम गरिरहेको छ भनेर । अरुले सम्झाइ दिनु पर्छ उसलाई अनि मात्र ऊ पुनः सचेत हुन्छ र सहि दिशामा लाग्न थाल्छ । कोही भने सदा कुण्ठैकुण्ठा बोकेर हिँडिरहने पनि हुन्छन् । दोस्रो खाले मान्छेलाई पहिलो खालेमा परिवतर्न गर्न यस्ता बिम्ब, संँकेतहरुले मद्दत गर्न सक्दैनन् । यहाँनेर मलाई के लाग्यो भने अमेरिकाका चारजना उत्कृष्ट राष्ट्रपतिहरुको टाउको ढुङ्गामा बनाएर यो देख्नासाथ अमेरिकी जनता तथा विश्वभरका जनताले उनीहरुले जस्तै देशको, राष्ट्रको र जनताको हित गरुन, जनतालाई माया गरुन । र, उनीहरुलाई सदा राम्रो काम गरिरहने प्रेरणा मिलोस भन्ने उद्देश्य हुनुपर्छ । ती राष्ट्रपतिहरुले दुई सय बर्षपछि आउने उनीहरुका सन्तनहरुले सम्झना गर्लान र उनीहरुलाई आकाशै छुनेगरी यति उच्चाइमा राख्ने छन् र उनीहरुको प्रेरणा लिइरहने छन् भनेर असल काम गरेको थिएनन् । उनिहरुले त तत्कालीन परिस्थितिको सही मूल्याँंकन गरेर सत्यको बाटोमा लागेर देश र जनताको हितका लागि काम गरेका मात्र थिए । नेपाली नेतृत्ववर्गले पनि हामी अमर छैनौं तर हामीले गरेका असल काम अमर बन्न सक्छन् भन्ने सोचेर सत्यको बाटो नसमाउलान भन्न सकिन्न ।

यी मूर्तिहरु करीब सत्तरी—असी फिटजतीको अग्लो ढुङ्गाको पहाडमा छ । रक क्लाइम्बरहरुले यसलाई सजिलै पार गर्न सक्छन् । यसको पछाडिको पहाड ढुङ्गेलो नभई माटो मिश्रित भएकोले अग्लो भएपनि बन जङ्गल हरियालीले ढपक्कै ढाकेको छ । मूर्तिको फेदीसम्म पुग्नको लागि ठूला सिँढी—सिँढी भएको राम्रो बाटो बनाइ दिएको छ । ठाउँठाउँमा बिश्राम गर्न मेचहरु पनि राखिएका छन् । ओह«ालो, उकालो र समथरगरि करिब एक माइल जतिको यो बाटो प्रायः सबै पर्यटकले घुम्दा रहेछन् । सल्लाको रुखको छहारी बाह्रै महिना भइरहने भएकोले समरका बेलामा पर्यटकलाई गर्मिबाट बचाउन छहारी दिन्छ, हिउँदमा सेता हिउँले आधा भरिएर सेतो र हरियोको सुन्दरताले पर्यटकलाई लोभ्याउँछ । यही हो साउथ डकोटाको माउण्ट रसमोर ।

Leave a Reply