अमर आकाशका तीन कविता

१. यौटा कालो ख्याक

वायु प्रदूषणले
स्वयम्भूका आठै आँखा
पग्लिएर खसेका छन्

हुस्सूको सतहमाथि टाउको देखाउने कमल
मञ्जुश्रीको स्वप्न तलाउ
ढाकिएको छ जलकुम्भीले

डाँडाकाँडाहरू चम्किएका छन्
रियल स्टेट र शहरीकरणको नियोन लाइटमा

अजायब घरमा हेर्न सकिन्छ सायद
काँडेभ्याकुर
केही जोडी मैला बकुल्लाहरू यद्यपि देखिन्छन्
दुर्गन्धित बधशाला छेउछाउ

५० लागेकी आइमाई भएकी छे बागद्वार
बुढिएर खुम्चिएका छन्
बागमती, विष्णुमती
जहाँ उपत्यकाबासीका मलमूत्र बग्छन्

महाशय,
यो नौलो अराजकताबाट
तपाईँलाई कहाली लागेदेखि

हाउडे पब र डान्सबारहरू छन्
स्ट्रिपटिज
न्युड डान्स
कञ्चन जाँघ
गाँजा, चरेस
अग्र्यानिक
प्रोडक्ट अफ शिव’ज ल्याण्ड

यस अध्यात्मिक भूमिको
प्राचीन मन्दिरहरू हेर्दाहेर्दा थाक्नुभएमा
कुनै पनि स्तुपा वरिपरि बसेर
सेकुवा खान सक्नुहुन्छ
रक्सी नै पनि पाइन्छ
माफ गर्नुस !
गुनकेशरी त म चिन्दिनँ
वसन्तपुरका महादेव–पार्वतीले पनि
गुनासो गरेका थिए
तर, खेत अब खेतहरू नै छैनन्
त्यहाँ सिमेन्टका घरहरू उम्रिएका छन्

र, यो चुहिरहेका थोपाहरू ?
हो !
यो आँसु हो
तपस्वी यतिको
तप्पतप्प खसिरहेका
भग्नहिटीहरूबाट
मृत्युको शोकमा

ज्यूँदो हुँदा जसलाई
ज्यापूले कानमा सिउरिएको थियो
निलो आकाशमुनि
हावामा झुलिरहेको
यौटा साङ्ग्रिला

जुन अब यौटा ख्याकको रुपमा
तपाईँसामु खडा छ

२. मसीहा पप्पी

मैले त्यसो गर्नु असम्भव थियो
आत्महत्या !
असफलता र निराशाहरूसँग
म धेरै लडेको छु, दिनरात
अर्ती उपदेश दिएको छु, निराशहरूलाई
तर, अन्तमा
धम्मपद र गीता पनि असफल भए
र, यौटा कुकुरको छाउरो …

सबैभन्दा पहिले मलाई आमाले धिक्कारिन्
मैले कुनै पेशा अपनाउन सकिनँ, निर्वाहका निम्ति
अनि प्रेमिका टाढिइन्
आम्दानी गर्ने बाटो मेरो थिएन
धेरैले मलाई सम्झाए कि
दिनमा तीन पटक खाना जुटाउनु जीवन हैन
यौटा डेराको बन्दोबस्ती उपलब्धी होइन
के संसारका प्रत्येक व्यक्ति धनी बन्न सम्भव छ ?
उत्तर कसैसँग थिएन
डिग्री बोक्ने या नबोक्ने दुवै किन बेरोजगार छन् ?
गरिबलाई चोर भन्नु र
कुरुपलाई बोक्सी भन्नु पुरानो फेशन हो
तर, ३९ को उमेरमा दोस्रो प्रेमिका गुमाउनु
बास नहुनुभन्दा असह्य कुरा हो
सबैतिरबाट गलत र एक्लो देखिनु
खान नपाउनुभन्दा पनि भयावह हुनसक्छ
बास र गाँसभन्दा पर पनि
मानव जीवनको सीमाना फैलिएको छ
असफलताले आत्महत्या गर्नेहरू छन्
ऋण लागेर मर्नेहरू छन्
प्रेमीले धोका दिएर पासो लगाउने
विष खानेहरू मैले देखेको छु
म हाँसेको थिएँ उनीहरूको लाश देखेर
तर, चट्याङ जहिलेसुकै
जोसुकैमाथि खस्दो रहेछ

तर, मैले त्यसो गर्नु असम्भव थियो
आत्महत्या !

अनि, यौटा कुकुरको दुई महिने बच्चाले
कसैको आत्महत्या रोक्ने कुरा मलाई थाहा थिएन

काठमाण्डूको कुनै अन्धकार गल्लीमा
विषको सिमसार कुल्चन लागेको
मेरो खुट्टाको गोलीगाँठोमा
नरम र न्यानो जिब्रोले चाटेर
जीवनको गरम फाँटमा फर्काउन सक्छ भन्ने
मलाई साँच्चै नै थाहा थिएन ।

३. टुङ्ना

यो हाम्रो हाड हो
मासुको मासु
गण्डकी, कोशी यसका तारहरू
जहाँ, हाम्रो रगत बग्छ
यौटा मुटु छ यसभित्र
त्यहाँ हाम्रो स्पन्दन सुनिन्छ
हाम्रो जिब्रो हो यो
मातृभाषा
आत्मा हो हाम्रो

झण्डा पनि यै हो
नक्सा पनि
लालीगुराँसको सुगन्ध बोकेको
नेपाल यै हो
००

Leave a Reply