अधिकार

– सुशीला देउजा
फलामको ढोका मानिने एस.एल.सी. को जाँच दिन गएको बिपुल समयअगाडि नै घर आयो । बाबु आमाले आत्तिँदै मायालु पारामा एकै साथ सोधे, “के भो बाबु ? किन चाडै आइस् ? यति चाडै जाँच सकियो र ?” ढोकैबाट बिपुलले झोक्किँदै झोला फ्यात्त फ्याक्यो र सोफामा गई थ्याच्च बस्यो । छक्क परेका बाबु आमा मुखामुख गर्दै छोरालाई टीठ लाग्दो गरी हेर्दै थिए । छोराले रिसाउँदै भन्यो, “हेर्नुस् न यसपाला नै गा¥हो प्रश्न आउनु परेको । प्रश्न पत्र हेरेर म त आत्तिएँ । लेख्नै सकिनँ अनि के गर्नु ? चिट लिएर लेख्दै थिएँ । बाहिरबाट जाँचकि आएका रहेछन् थाहा नै पाइनँ । जाँचकिले मेरो चिट खोसे र रिसाउदै जाँच दिन पाइँदैन भनी हलबाट बाहिर निकाली दिए । त्यस बेला हलमा भएका सबैले मलाई कस्तो हेय भावले हेरे । साथीहरूको अगाडि कस्तो लाज मर्नु भयो । साह्रै रिस उठिरहेको छ । अब के गर्ने होला ? यो वर्ष त खेर जाने भयो । टाउकोमा हात राखी छोरा दिक्क भई बस्यो ।
चिन्तित छोरालाई हेरेर बाबुआमा विह्वल भए । छोरालाई चिट चोर्न हुन्न । चोरेर पास हुने हैन । मिहिनेत गरी पढनुपर्छ । पढेर पास हुनुपर्छ । भनी सिकाउनुको साटो बाबु आमाले नै गलत कुराको पुठ दिए, छोराको आड लिँदै भने, “बिचरा लेख्नै नआए के गरोस् । एक वर्ष त्यसै खेर फाल्न त भएन । साथीहरूको अगाडि लाज पनि त हुन्छ ।” बाबु आमाको यस्तो हौसलाले भरिएको बोलीले छोरा उक्सियो रिसले फनफनियो ।
आक्रोशित बाबुआमा छोराको पक्ष लिँदै चिट चोरेर छोराले के गल्ति ग¥यो र परीक्षा हलबाट निकाले भन्दै गरम बहस गर्दै थिए । उनीहरूको विचारमा चिट चोर्न पाउनु विद्यार्थीको ‘अधिकार’ हो । भोलि यसबारे विरोध जुलुश निकाल्नै पर्छ ‘पिर नगर’ भनी छोरालाई फकाए ।
‘कहीँ न भा’को जात्रा हाँडी गाउँमा’ भने जस्तै नभन्दै भोलि पल्ट एक हुल बाबुआमा परीक्षास्थल बाहिर ‘बिद्यार्थीले चिट चोर्न पाउनु पर्छ’ भन्दै नारा लगाउँदै गरेको देखियो । केटाकेटी पनि जोशिएर कराउँदै साथ दिँदै थिए ।